सुर्खेत । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २० वटा मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको रुपमा राखिएको छ । सुर्खेत जिल्लाभर एक सय ३८ मतदानस्थल रहेकोमा २० वटा मतदानस्थल सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
यी बाहेकका अन्य मतदानस्थलहरुममा ८५ मतदानस्थल संवेदनशील छन् भने ३३ मतदानस्थल सामान्य अवस्थामा रहेको प्रजिअ रिजालले बताए ।
भौगोलिक विकटता, सञ्चार, यातायात र यसअघिका निर्वाचनमा भएका झडपहरुका कारण मतदानस्थललाई अतिसंवेदनशील मानिएको हो ।
जिल्लाको चौकुने गाउँपालिकामा ६, सिम्ता गाउँपालिकामा सात, बराहताल गाउँपालिकामा तीन, पञ्चपुरी नगरपालिकामा दुई र चिंगाड गाउँपालिका दुई वटा अतिसंवेदनशील मतदानस्थलहरु रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक पदमबहादुर विष्टले जानकारी दिए ।
अति संवेदनशील मानिएका मतदानस्थलमा चारवटै सुरक्षा निकायले सुरक्षा, व्यवस्थापन र समन्वय गर्ने गरी जिम्मेवारी तोकिएको प्रजिअ रिजालले जानकारी बताए । उनका अनुसार चारवटै सुरक्षा निकायको मोबाइल टिम व्यवस्थापनमा जुटेको छ ।
मतदाताका लागि शान्ति सुरक्षा कायम राखी भयरहित वातावरणमा मतदान गर्न सुरक्षा कडाई गरिएको सशस्त्र प्रहरी बल सुर्खेतका सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए ।
अतिसंवेदनशील क्षेत्रमा विशेष केन्द्रीत रहेका सुरक्षा निकायका मोबाइल टोली बढिभन्दा बढि मात्रामा खटाइएको उपरीक्षक डाँगीले बताए ।
समयमै सुरक्षित र निश्पक्ष निर्वाचन सम्पन्न गराउन जिल्लामा रहेका मतदानस्थल, मतदान केन्द्र, मतगणना स्थल लगायतको अनुगमन गरिएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले जानकारी दिनुभयो । अनुगमनमा देखिएका सुरक्षा चुनौती, संवेदनशीलता लगायतका विषयमा शुक्ष्म तरिकाले अनुगमन गरी सोही अनुसार तयारी गर्न पालिकास्थित निर्वाचन अधिकृतहरुलाई निर्देशन गरिएको बताए ।
सुर्खेतमा २५ दल निर्वाचनमा सहभागी हुने निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सुर्खेत जिल्लामा दुई लाख १८ हजार ४३ मतदाता रहेका छन् । जसमध्ये एक लाख ११ हजार सात सय १८ पुरष र एक लाख ६ हजार तीन सय २५ महिला मतदाता रहेका छन् ।