कर्णाली । हङकङमा भइरहेको एक सय किलोमिटर अल्ट्रा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । पातारासी गाउँपालिका-२ पेर गाउँमा जन्मिएकी सुनमायाले एक सय किलोमिटर दुरीको म्याराथन ११ घण्टा ११ मिनेट ४७ सेकेण्डमा पूरा गरिन् ।
उनले स्लोभाकीयाकी भेरोनिका लेङलाई १४ मिनेट २५ सेकेण्डको अन्तरले उछिनेकी हुन् । भेरोनिका ११ घण्टा २५ मिनेट २२ सेकेण्डका निर्धारित दुरी पार गर्दै दोस्रो भइन् । भियतनामकी हा थी हाउ १२ घण्टा ९ मिनेट ३७ सेकेण्डमा एक सय किलोमिटर दुरी पार गर्दै तेस्रो भइन् ।
एक सय किलोमिटर जस्तो चुनौतीपूर्ण दौडमा सुनमायाले देखाएको प्रदर्शन सबैका लागि प्रेरणादायी बनेको कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीले बताए । ‘सुनमायाको जीत प्रतिस्पर्धा जित्नेसम्म मात्र सीमित रहेन । सबै कोर्षको रेकर्ड तोडेर नयाँ उचाइमा आफ्नो नाम दर्ज गर्न सफल भइन्, उनले भने ।
सुनमायाले दौडको सुरुवाती देखि नै आफूलाई सन्तुलित बनाइन् । रणनीतिक रुपमा अघि बढ्दै अन्त्यसम्म उच्च उर्जा र दृढ संकल्पका साथ दौडिन् । हङकङक भुगोल,थकान र अनिश्चित मौसमले रोक्न सकेन् । सुनमायाको सहनशीलता, धैर्यता र मानसिक तयारीले मात्र यो जीत हासिल भएको हो’,विश्वकृतिमानी धावक रोकायाले भने ।
जुम्लाको उकालो ओरालोले सुनमायालाई अल्ट्रा म्याराथनमा प्रतिश्पर्धा गर्न सिकायो । कर्णाली खेलकुद क्लवका अध्यक्ष शाहीले सुनमायाको यो सफलता खेलकुद प्रतिको उनको गहिरो समर्पणको गाथा भएको बताए । प्रशिक्षणका क्रममा झेलेका चुनौतीहरू, खानपान र जीवनशैलीमा अपनाएको अनुशासन र लक्ष्य प्रतिको अनवरत यात्राको परिणाम हो, उनले भने ।
अल्ट्रा धाविका सुनमायाले आफूले उपयोग गरेको समय, मेहनत, प्रतिबद्धता र अनवरत संघर्षको प्रतिफल भएको बताइन् । हङकङ म्याराथनमा मैले पाएको सफलता व्यक्तिगत पक्कै पनि होइन । समग्र देशको सफलता हो, सुनमायाले भनिन्, ‘म अझै रोकिने छैन । अनवरत कोशिस जारी रहनेछ ।’
दुर्गम गाउँमा जन्मिएर अर्न्तराष्ट्रिय मञ्चमा नाम चिनाउन सफल भएकी सुनमायाको सफलता नेपाली महिलाहरूका लाथि थप प्रेरणा भएको प्रशिक्षक विश्वकृतिमानी धावक हरिबहादुर रोकायाले बताए । सुनमायाले देखिएको दृढता र सफलताले समाजमा महिलाहरूले खेलकुद क्षेत्रमा योगदान पुर्याउन सक्छन् भन्ने नमुना प्रस्तुत गरेको उनको भनाइ छ ।