सुर्खेत । पशुपन्छी विकास निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बिहान आयोजित एक विशेष अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र पशुपन्छी शाखाका प्रमुखहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले बाँझो जमिनको सदुपयोगमा सरकारले विशेष ध्यान दिएको जानकारी दिएका छन् । मन्त्री शाहले भने, “हामीले बाँझो जमिन सदुपयोग गर्न विभिन्न योजनाहरू तयार गरिरहेका छौँ । फलफूल र तरकारी खेतीमा विशेष जोड दिएका छौँ ।” उनले गरिबी न्यूनीकरण र खाद्यान्न अभाव कम गर्न बाँझो जग्गा खेती गर्नुपर्ने बताए ।
मन्त्री शाहले किसानलाई खेतीपातीमा आकर्षित गर्नका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिए। उनले युवाहरूको वैदेशिक रोजगारका कारण खेतीयोग्य जमिन बाझो भएको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै कृषकलाई खेतीमा फर्काउनका लागि सरकारको विशेष पहल गरिरहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरूले कृषकहरूको समस्याबारे आफ्ना विचार र सुझावहरू प्रस्तुत गरेका छन् । उनीहरूले कृषकहरूले उत्पादन गरेको वस्तुले बजार भाउ पाउन नसकेको गुनासो गर्दै आवश्यक तालिम, संसाधन र बजार पहुँचको अभावका कारण कृषकले समस्या भोगिरहेको बताएका छन् । त्यसका लागि मन्त्रालयले विशेष पहल गर्न आग्रह गरेका छन् ।