एक्लोपनलाई मानिसको स्वास्थ्यमा त्यस्तो खतराका रूपमा लिने गरिएको छ जुन दैनिक १५ वटा चुरोट खाए बराबर घातक हुनसक्छ ।
आजभोली हामी धेरै मानिसहरूसँग सम्पर्कका निम्ति यसरी उपलब्ध कहिल्यै थिएनौ । हाम्रो स्मार्टफोन दैनिक सयौँ सन्देशहरूले भरिएको हुन्छ । यस्तो अन्य मानिसहरूसँग निरन्तरको सम्पर्क हाम्रो मानसिक स्वास्थ्यका लागि थेगीनसक्नु हुनसक्छ जसले धेरै मानिसलाई थोरै भए पनि शान्तिको लागि व्यग्र बनाउँछ।
के यसमा सन्तुलन खोज्न सम्भव छ ? स्वास्थ्य विज्ञहरूसँग उनीहरूको विचार खोजिएको छ।
के एकान्तमा बस्ने र एक्लोपनमा फरक छ ?
एक्लोपन पुरानो समस्या भए पनि कोभिड महामारीका बेला लम्बिँदो लकडाउन र सामाजिक दूरी कायम गर्ने बाध्यकारी नियमले गर्दा त्यो लाखौँको लागि चुनौती बन्यो।
त्यसबेला धेरै मानिसहरू घरमै अलपत्र बस्न पर्यो। एक्लोपन एक “आत्मपरक, अप्रिय संवेदना” हो जुन तब उत्पन्न हुन्छ जब तपाईँसँग “आफूले चाहेको भन्दा थोरै मात्र विभिन्न खालका सामाजिक सम्बन्धहरू हुन्छन्,” ब्रिटेनको शेफिल्ड ह्यालम विश्वविद्यालयमा एक्लोपन सम्बन्धी अध्ययन गर्ने निकाय सेन्टर फर लोन्लिनेस स्टडिजकी निर्देशक एन्ड्रिया विगफिल्ड भन्छिन्।
विज्ञहरूले सुझाए अनुसार जब तपाईँलाई आफ्नो व्यक्तिगत सम्बन्धको गुणस्तर आफूले चाहेको भन्दा थोरै भएको महसुस हुन्छ तब त्यस्तो अवस्था देखापर्छ।
अथवा, यदि तपाईँ आफ्ना सम्बन्धहरूलाई तपाईँका साथीहरूको सामाजिक सम्बन्धसँग तुलना गर्नुभयो भने पनि तपाईँको मित्रता कमजोर भएकोमा सजिलै असन्तुष्टि महसुस हुन सक्छ।
अरूबाट अलगथलग बस्ने व्यक्तिले चाँडै आफूलाई एक्लो अनुभव गर्न सक्छ। तर तपाईँलाई भीडमा हुँदा पनि एक्लो अनुभव हुन सक्छ भन्ने कुरा पनि साँचो हो।
विगफिल्डका अनुसार तपाईँले आफूलाई कुनै ठाउँमा विरानो अनुभव हुने वा तपाईँको सम्बन्धको गुणस्तर मजबुत छैन भन्ने महसुस हुँदा पनि त्यसबाट छिट्टै आत्मपरक अप्रिय भावना निम्तिन सक्छ।
केही भाषामा एक्लोपन र एकान्तमा बस्न रूचाउने व्यवहार जनाउने शब्दहरू उस्तै अर्थमा प्रयोग हुने भए पनि सोलिट्युड अर्थात् एकान्त रूचाउने अवस्था अस्थायी हुन्छ भने यसले शान्तिको आनन्ददायी क्षण प्रदान गर्न सक्छ।
“एकान्तमा बस्न रुचाइने एउटा त्यस्तो अवधि हुन सक्छ जुनबेला तपाईँ शारीरिक रूपमा एक्लै बस्ने र सामाजिक सञ्जालमा कसैसँग अन्तरक्रिया नगर्ने गर्न सक्नुहुन्छ,” सोलिट्युड ल्याबका प्रमुख अन्वेषक तथा यूकेको डरम विश्वविद्यालयमा मनोविज्ञानका सह-प्राध्यापक थुई-भी नुएन बताउँछिन्।
शरीरमा एक्लोपनले के असर गर्छ ?
केम्ब्रिज विश्वविद्यालयको पछिल्लो एक अध्ययन अनुसार एक्लोपन तपाईँको स्वास्थ्यका लागि निकै खराब हुनसक्छ।
उक्त अध्ययनले त्यसबाट मुटुरोग, स्ट्रोक, टाइप टु मधुमेह र इन्फेक्सनहरूसँगको बढ्दो जोखिम निम्त्याउने देखाएको छ।
विगफिल्डका अनुसार एक्लोपनले डिमेन्सिया, डिप्रेसन, तनाव र समग्रमा मृत्युको बढ्दो जोखिम निम्त्याउने अवस्थाका बढ्दो प्रमाणहरू छन्।
यस्तो जोखिम पछाडिको कारण के हो भन्ने अझै प्रस्ट छैन। चिकित्सकहरूका विचारमा यसको सम्बन्ध शरीरमा बढ्ने तनावसँग जोडिएको हुनसक्छ।
त्यसैगरी एक्लोपनका कारणले गर्दा मानसिक स्वास्थ्यको अवस्था झनै खराब हुन्छ। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको अनुमान अनुसार चार जनामा एक ज्येष्ठ उमेर समूहका मानिसहरू सामाजिक रूपमा एक्लिएका हुन्छन् भने ५ देखि १५ प्रतिशत किशोरावस्थाका मानिसहरूले एक्लोपनको सामना गरिरहेका छन्।
तपाईँको उमेरबाहेक पनि निश्चित समूहमा बढ्दो रूपमा एक्लोपनको जोखिम देखिन्छ।
ती आप्रवासी, जातीय अल्पसङ्ख्यक, शरण खोजिरहेकाहरू, एलजिबिटिक्यूप्लस वर्गमा रहेका मानिसहरू, स्याहारसुसारको काम गर्नेहरू र अतिरिक्त स्वास्थ्य समस्या भएका अवस्थाका मानिसहरू हुने गर्छन्।
तपाईँ कसरी एक्लोपनासँग जुझ्न सक्नुहुन्छ ?
पछिल्ला वर्षमा कैयौँ सरकारहरूले एक्लोपनाको प्रकोपसँग जुझ्ने प्रयासहरू थालेका छन्। स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र बृहत् अर्थतन्त्रमा लाखौँ डलरको खर्च भएपछि यसले राजनीतिक एजेन्डाको रूप लिएको छ।
सामाजिक कार्यममा स्वयंसेवक बन्नु एक प्रभावकारी रोकथामको रणनीति हुन सक्ने अध्ययनले देखाएको छ। हङकङमा ३७५ सामुदायिक स्वयंसेवकहरूसँग गरिएको एक ‘परीक्षण’ का अनुसार तपाईँ आफूलाई विश्वास लागेको सामाजिक उद्देश्यका निम्ति आफ्नो अतिरिक्त समय खर्च गर्नाले एक्लोपन कम गर्न सकिन्छ।
विशेष गरी प्रौढ उमेर समूहका मानिसमा यो उपयोगी देखिन्छ। यसैबीच अष्ट्रेलिया र नेदरल्याण्ड्सले पुस्तान्तर जीवनयापनमा लगानी गर्ने फरक तौरतरिका अपनाइरहेका छन्।
वृद्ध र युवा पुस्ताहरूलाई धेरैले प्रयोग गर्ने सामुदायिक केन्द्रजस्ता स्थानमा घुमघाम र भेटघाट गर्न प्रोत्साहन गरिरहेका छन्।
ब्रिटेनमा डाक्टरहरूले अत्यन्तै एक्लो भएको शङ्का लागेका बिरामीहरूलाई “सोसल प्रेस्काइबिङ” गर्ने अभ्यास पनि बढ्दै गएको छ जसक्रममा औषधि लेख्नुको सट्टा मानिसहरूलाई सामाजिक रूपले एकआपसमा जोड्ने सेवाहरूमा सहभागी हुन सुझाइन्छ।
बालबालिका तथा किशोरकिशोरी सम्बन्धी मनोचिकित्सक होलान लियाङले त्यसलाई सामाजिक दृष्टिकोण, सहकार्य गर्ने सहिष्णु समुदायहरूको विकास गर्ने रूपमा व्याख्या गर्दै त्यस्तोमा सबैको स्थान र उद्देश्य हुने र त्यो सबैभन्दा अर्थपूर्ण रहने बताउँछिन्।
“अरूको बारेमा ख्याल गर्ने, दयालु भावना प्रवर्द्धन गर्ने र अरूलाई मद्दत गर्नाले एक्लोपन रोक्न सघाउँछ,” अ सेन्स अफ बिलोङ्गगिङकी लेखक समेत रहेकी लियाङ भन्छिन्।
विज्ञहरूका अनुसार फराकिलो दृष्टिकोणबाट हेर्दा व्यक्तिगत तहमा सबैले आफ्नो सन्तुष्टि र आफ्नै सम्बन्ध र मित्रताको गुणस्तरको ख्याल राख्नुपर्छ। एक्लोपनका लक्षणहरू ख्याल गर्दै सावधान रहन आवश्यक मानिन्छ। त्यसमा निरन्तर उदास रहने र भेटघाट-जमघटको कमै इच्छा गर्ने वा घर छाड्नै नचाहने जस्ता व्यवहारहरू हुनसक्छन्।
चेतावनीको सङ्केतका रूपमा भने मानिसमा अलग्गिएर बस्न चाहने भावना बढ्ने वा अरूसँग वा आफ्ना आसपासका ठाउँहरूसँग नजोडिएको महसुस गर्ने अवस्था हुनसक्छ।
के एकान्त बस्नेहरूलाई समाजले नकारात्मक रूपमा हेर्ने अवस्था छ ?
प्राध्यापक नुएन एक सामाजिक प्राणीका रूपमा मानिस बाँच्नको लागि निश्चित नियमहरूको पालना गर्ने एकत्रित सामाजिक सञ्जालमा भर पर्ने बताउँछिन्।
यसको एक हिस्साको रूपमा “हामी सामाजिक अन्तरक्रिया र समूहमा हुनुको महत्त्वलाई मात्र हेर्छौँ। जसकै कारण एकान्तमा बस्न खोज्ने व्यवहारलाई नकारात्मक रूपमा हेरिन्छ,” उनी भन्छिन्।
तर “एक्लै बस्दा हुने तत्कालको फाइदा भनेको त्यसबाट हामीलाई शान्ति प्राप्त हुन्छ।”
यूकेको युनिभर्सिटी अफ रेडिङको एक अध्ययनले एकान्त बस्ने गर्नाले राम्रो स्वास्थ्य र खर्च बचाउने दुवै काम गर्नसक्ने देखाएको छ।
उक्त अध्ययनमा अनुसन्धानकर्ताहरूले २१ दिनसम्म १७८ वयस्कहरूलाई हेरेका थिए। उक्त अवधिमा सहभागीहरूले आफ्नो तनाव, जीवन सन्तुष्टि, स्वनिर्णय र एक्लोपन मापन गर्न डायरी कायम गर्नुका साथै र एक प्रश्नावली भरेका थिए।
सो अध्ययनका लेखकहरूका अनुसार त्यो एकान्तबास “शान्त हुने असर” हो।
यद्यपि धेरै घण्टा एक्लै बिताएका दिनमा सहभागीहरूले एक्लो महसुस गर्ने वा कम सन्तुष्ट भएको अनुभव गरेको बताएका थिए।
आफ्ना लागि कसरी अर्थपूर्ण क्षण निकाल्ने ?
एकान्तबासले भावनात्मक नियमन, स्वतन्त्रता र आत्मनिर्णयको भावनाका लागि ठाउँ दिने दृष्टान्तहरूले देखाउँछन्।
त्यसैले यो खासगरी हामीले धेरै तनाव महसुस गर्ने परिस्थिति वा तपाईँलाई धेरै कुरा भइरहेको महसुस हुने कुनै निश्चित दिनका लागि उपयोगी तरिका हुनसक्छ।
त्यसकारण एकान्तबासले मानसिक स्वास्थ्य राम्रो राख्ने र समस्यासँग जुझ्न सक्ने शक्ति प्रदान गर्छ। तर एक्लै समय बिताउनु कोही मानिसका लागि भने कठिन काम हुन सक्छ।
प्राध्यापक नुएनले एक्लै बसिने समयलाई नियमित “बानी” मा परिणत गर्न सुझाउँदै स्क्रिनबिनाकै समय तालिका बनाउँदा पनि आनन्द लिन सकिने बताउँछिन्।
“जब मानिस मसँग एकान्तमा बसेर फाइदा कसरी उठाउने भनेर सोध्छन् तब मैले सधैं भन्ने एउटा कुरा भनेको दैनिक १५ मिनेटबाट सानो सुरुवात गर्नुहोस् भन्ने हुन्छ,” उनी भन्छिन्।
उक्त छोटो अवधिमा तपाईँ कस्तो महसुस गर्नुहुन्छ, के गर्न मन पर्छ भन्ने कुराको हेक्का राख्न सक्नुहुन्छ र दिनहरू बित्दै जाँदा एकान्तमा बस्ने यो समयलाई मिनेट-मिनेटले बढाउन थाल्नुहुनेछ।
“कहिलेकाहीँ मानिसहरू डिटक्स सुरु गर्न चाहन्छन् र कैयौँ दिनका लागि आफ्नो स्क्रिन समय वा सामाजिक सञ्जाल प्रयोग बन्द गर्न खोज्छन्। यसले असुविधा सिर्जना गर्न सक्छ र तपाईँ भविष्यमा फेरि यो प्रयास गर्न चाहनुहुन्न,” उनी बताउँछिन्।
तर के त्यसको सीमा छ?
युनिभर्सिटी अफ रेडिङले गरेको अध्ययनमा तथ्याङ्कले पत्ता लगाए अनुसार मानिसहरूले धेरै घण्टा एकान्तमा बिताएका दिनमा तिनिहरूले बढी नै एक्लो र कम सन्तुष्ट भएको अनुभव गरेका थिए।
नुएनका अनुसार यस विषयमा सर्वोत्तम सन्तुलनको अवस्थालाई घण्टामा मापन गर्न सकिँदैन तर यस्लाई यसको गुणस्तरका दृष्टिले हेरिनुपर्छ।
केही अनुसन्धानहरूलाई देखाउँदै उनी भन्छिन् मानिसहरू जागा रहने समयमध्ये त्यस्को ७५ प्रतिशत अवधि एक्लै विताउँछन् भने तिनीहरूमा एक्लोपनको समस्या सुरु हुन थाल्छ।
त्यसो भए अरूबाट अलग्गिएर बसिने समयमा के गर्ने?
विज्ञहरूले सकृयता बढ्ने, जीउमा आराम अनुभव हुने र थकान मेटिने खालका गतिविधिहरू खोज्न सुझाउँछन्।
धेरैजसो पढ्ने, बगैँचाको स्याहार गर्ने, प्रकृतिमा हिँड्ने, सङ्गीत सुन्ने, खाना पकाउने र हस्तकलाको काम गर्ने जस्ता गतिविधि र सोख एकान्तमा बस्दा गर्न सकिने व्यवहार सुहाउँदा हुन्छन्।