बाग्मति । वाग्मती प्रदेशका ६ जिल्लामा बर्डफ्लु रोगको संक्रमण फैलिएको छ । वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले बर्डफ्लु रोग फैलिएकाले यसबाट सचेत हुन आग्रह समेत गरिएकाे छ ।
बर्डफ्लु देखिएका स्थानमा पन्छीको नष्ट गरिएको र क्षति भए वापतको रकम समेत दिइने मन्त्रालयका सचिव पाण्डेले बताए ।
मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा संक्रमण विभिन्न जिल्लामा फैलिरहेको उनले जानकारी दिए ।
बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पन्क्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।
कुखुरामा बर्डफ्लु देखिन थालेपछि यसको परीक्षणको कामलाई तिब्रता दिइएको वाग्मती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक डाक्टर मुगलप्रसाद साहले जानकारी दिए ।
पशुपन्छीमा कुनैपनि रोग लागेमा यसको परीक्षण गर्ने, औषधि उपचार गर्ने, किसानलाई सचेत गराउने लगायतका नियमित कामहरु भइरहेको उनले बताए ।
चितवन जिल्लामा कुखुराको सख्या धेरै भएकाले बर्डफ्लुको जोखिम पनि निकै रहेको निर्देशक साहले बताए ।
बर्डफ्लु नियन्त्रणमा सरकारको प्रयास
संक्रमण देखिएको स्थानमा पूर्ण निसंक्रमणका कार्यहरु गरिएको छ । संक्रमण देखिएको स्थानबाट रोग अन्यत्र फैलिन नदिन नमूना संकलन र निगरानीका कार्यहरु सञ्चालन भईरहेको छ । बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाद्वारा बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण गर्न काम गरिएको छ ।
बर्डफ्लु रोगको समयमै निदान र नियन्त्रणको लागि वाग्मती प्रदेश सरकार मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा अन्य कर्मचारीहरुलाई लामो बिदामा नबस्न र जिल्ला नछाड्न पत्राचार गरिएको जनाएको छ । बर्डफ्लु रोग छिटो निदानको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । संक्रमण फैलिन नदिन पन्छीहरुको आवतजावत नियमनको लागि नेपाल प्रहरीसँग समन्वय गरिएको छ । पन्छीपालक व्यवसायीहरुले पन्छी ढुवानी गर्दा जाँचमा कडाई गर्ने र ढुवानी गर्दा अनिवार्य गर्ने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भइरहेको छ ।
यसैगरी वाग्मती प्रदेशभित्र बर्डफ्लु रोग नियन्त्रणको लागि आवश्यक जनशक्ति व्यवस्थापनको लागि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानसँग छलफल भइरहेको छ । कृषकहरुलाई बर्डफ्लु रोगको छिटो सूचना प्रवाह गर्ने कार्य सहजीकरण गर्नको लागि टोल–फ्री नम्बरको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ ।
रोग नियन्त्रण गरी थप आर्थिक क्षति हुन नदिन तत्काल आपतकालीन योजना बनाई कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । बर्डफ्लु रोग सम्बन्धी जनचेतनामूलक सामाग्रीहरु सञ्चार माध्यमहरुबाट प्रचार–प्रसार गरिएको छ । बर्डफ्लु नियन्त्रणको लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय गरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु आपतकालिन रोग अन्वेषण र संक्रमित पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामाग्रीहरु हटाउने वा नष्ट गर्ने जस्ता कार्यहरुमा खटिएका छन् ।
बर्डफ्लु रोग नियन्त्रणको लागि जिल्लास्तरीय बर्डफ्लु नियन्त्रण समितिको वैठक गरि अन्तर निकाय समन्वय गरिएको छ । बर्डफ्लु रोग नियन्त्रण बारे बर्डफ्लु जोखिमयुक्त र संक्रमित जिल्ला अन्तरगतका स्थानीय तह र सरोकारवाला निकायहरुसँग समन्वय गर्न अन्तरक्रिया कार्यक्रमहरु तीव्ररुपमा सञ्चालन भइरहेको छ ।