सुर्खेत । प्रधान सेनापति प्रभुराम शर्माले मुलुकको आर्थिक सामाजिक विकासका लागि सामुहिक एकता आवश्यक हुने बताएका छन् । उनले कडा अनुशासमा रहेर सेनाको लक्ष्य प्राप्तीका लािग एकता आवश्यक हुन्छ त्यसैगरि सामाजिक विकासमा पनि सामुहिक एकता आवश्यक रहेको बताएका हुन् ।
आइतबार सुर्खेतमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले सेनाभित्र मिशन पूराका लािग जसरी चेन अफ कमाण्डमा काम गरिन्छ उसैगरि सेवा निवृतिभरण पश्चातपनि अनुशासनमा रहनुपर्ने बताए । ‘सेनामा मिशन पूरा गर्नका लागि चेन अफ कमाण्डमा काम गरिन्छ । सेनामा हुँदा सिकेको उच्च अनुशासनमा रहेर सेवा निवृतिभरणपश्चात पनि समाजको उदाहरणीय पात्र बन्नुहुनेछ भन्ने विश्वास छ’ प्रधान सेनापति शर्माले भूपू सेनालाई सम्बोधन गर्दै भने, ‘नेपाली सेना राजनीतिक निरपेक्ष चरित्रको भएकोले समाजको आर्थिक, सामाजिक विकासमा सामुहिक भावना जागृत गर्दै अघि बढ्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।’
प्रधान सेनापति शर्माले सेनाका संगठनको लक्ष्य प्राप्तीका लागि सहयोग गरेकोमा भूपू सैनिकका तर्फबाट भविष्यमा पनि निरन्तरताको अपेक्षा रहेको धारणा व्यक्त गरे । ‘सेनामा हुँदा साझा घरको रुपमा लिइएको यसको मूल जग हल्लिन दिनु हुँदैन ।’ शर्माले भने, ‘यदि सेनाभित्रको जग हल्लियो भने नेपालको जग्ग हल्लिन्छ । जसले गर्दा ठूलो दुर्घटना समेत हुन सक्तछ ।’
विश्व वातावरण र परिरिस्थतिलाई आंकलन गर्दा एकताको खाँचो आवश्यक देखिएको भन्दै प्रधान सेनापति शर्माले भूपू सैनिकले ठूलो सहयोग गर्नुपर्ने बताए ।
साथै, उनले भूपू सैनिक र उनिहरुप्रति आश्रीत परिवारका लागि सैनिक कल्याणकारी कोष सञ्चालन गरिएको जानकारी दिए । उनले कोषको स्रोत र साधनले पुगेसम्म सेवा सुविधा प्रदान गरिने बताए ।
एक करोड ३४ लाख बाट सुरु भएको सैनिक कल्याणकारी कोष हाल ६४ अर्ब रुपैयाँमा रहेको प्रधान सेनापति शर्माले बताए । उनले सरकारी नियमानुसार लगानी रकमको तेरिज भएकोले यसको मूलधनबाट प्राप्त व्याज र आम्दानीबाट वर्षमा करिव १५ अर्ब रुपैयाँ लगानी हुने गरेको जानकारी दिए ।
सैनिक कल्याणका लागि सेनाले चार ‘स’को सोच अनुरुप काम गरिरहेको बताए । चार ‘स’मध्ये शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार रहेका छन् ।
सेवा निवृति पछि बैदेशिक रोजगारीमा जानेहरुको संख्यालाई मध्यनजर गरि सहुलियत कर्जाको अवधारणा कार्यान्वयनमा ल्याइएको सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले बताए । ‘सेनाबाट अवकास भएपश्चात बैदेशिक रोजगारमा जानेगरेकाप्रति हामी जानकार छौं’ कार्कीले भने, ‘स्वदेशमै रोजगारीका लागि योजना बनाउने उद्देश्य अनुरुप सैनिक कल्याणकारी कोष र सहुलियत कर्जा लगायतका कार्यक्रम कार्यान्वयनमा ल्याउन जोड गरको हौं ।’
सम्मेलनमार्फत नारायण नगरपालिका–७ का जेष्ठ भूतपूर्व सैनिक, ८२ वर्षीय प्युठ हर्कबहादुर ठकुरी, अवकास प्राप्त स्वर्गीय जमदार जयकृष्ण उपाध्यायका श्रीमती चन्दननाथ नगरपलिका–१० का ८२ वर्षीय जेष्ठ एकल महिला लक्ष्मी कन्या उपाध्यायलाई सम्मान गरिएको थियो ।
सम्मेलनमा चार वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने पाँच जना आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १४ जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग प्रदान गरिएको थियो । साथै लघुबित्त कार्यक्रम एवं महिला उद्यमशिलता कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।
सम्मेलनमा भू.पू. सैनिक तथा एकल महिलाहरुको तर्फबाट मार्चपास, राष्ट्रिय सेवादलका क्याडेटहरुद्वारा नृत्य प्रदर्शन, नेपाली सेनाद्वारा स्थान विशेषको झाँकी, संस्कृति झल्किने नाँच, खुकुरी ड्रिल, तेक्वान्दो पि.टि., मास पि.टि. र सैनिक व्याण्डको प्रस्तुती समेत प्रदर्शन गरिएको थियो । सम्मेलनको पूर्व सन्ध्यामा निमारे ब्यारेक, सुर्खेतस्थित श्री नं.४ फि.ए. गुल्ममा विशेषज्ञसहितको स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
सम्मेलनमा सर्वोत्कृष्ट उद्यमी व्यवसायी र सेनामा सेवा गर्न अभिप्रेरित गर्नेहरुलाई सम्मान गरिएको थियो । फरक क्षमता भएका तथा अशक्त १४ (चौध) जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग प्रदान र लघुबित्त कार्यक्रम एवं महिला उद्यमशिलता कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई चेक हस्तान्तरण गरिएको थियो । सम्मेलनका कर्णाली प्रदेशका ८ जिल्लाबाट दुई हजार बढी भूपु सैनिकहरुको सहभागिता थियो ।