सुदूरपश्चिम । सुदूरपश्चिममा अहिलेसम्म प्रतिपक्षमा रहेका दल नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति रेशम पक्षका सांसदले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको खोजी मोबाइलको टर्च लाइट बालेर गरेका छन्।
सोमबार २ बजेको लागि आह्वान गरेको प्रदेश सभा बैठकमा सुदूरपश्चिम सरकारको तर्फबाट एक जना पनि मन्त्री सहभागी भएनन्। जसकारण प्रदेश सभा बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।
कुनै पनि मन्त्री उपस्थित नभएपछि बैठक नै नबसी स्थगित भएपछि प्रतिपक्षका सांसदले प्रदेश सभा भवनको बाहिर उभिएर मोबाइलको टर्चलाइट बालेर सरकारको खोजी गरेका छन्। बाढी पहिरोबाट ठूलो क्षति भएको र त्यहि विषयमा प्रदेश प्रमुखसँग आग्रह गरेर आह्वान गरिएको विशेष अधिवेशनमा पनि सरकार उपस्थित नभएको भन्दै प्रतिपक्ष दलहरूका सासंदहरू बताउँछन्।
सरकारको खोजीको लागि साङ्केतिक रूपमा बत्ती बालेको एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिए। उनले मुख्यमन्त्री दीर्घ सोडारीलाई नैतिकताको आधारमा राजीनामा दिन समेत उनले आग्रह गरे। यस्तै, कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सरकारले संसद छलेर हिँडेको भन्दै यस विषयमा आफूहरू गम्भीर रहेको बताएका थिए। संसद्मा उपस्थित भएको भन्दै मन्त्रीलाई बर्खास्त गरेकोमा उनले विरोध जनाए।
असार २० मा एमालेले समर्थन फिर्ता दिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेको छ। तर, मुख्यमन्त्री सोडारीले अहिलेसम्म विश्वासको मत लिने मिति निर्धारण गरेका छैनन्। व्यवस्था अनुसार उनले १८ गते सरकार छोड्नु पर्ने हुन्छ।