मधेस । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यामा उनकै घरमा काम गर्ने युवकको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ स्थित रतनपुरमा रहेको फार्म हाउसमा गत साउन ६ गते राति रायको हत्या भएको थियो। टाउकोमा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको थियो। घटनाको रात रायसँगै उक्त घरमा काम गर्ने सहयोगी कविलासी नगरपालिका वडा नम्बर ३ स्थित मदनपुर घर भएका २१ वर्षीय रामउजैन राय यादव थिए।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा संलग्नता भेटिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए। ती अधिकारीका अनुसार रामउजैनले हत्या गरेको समेत स्वीकारेका छन्। ुअहिलेसम्मको सबुत प्रमाणले उनैले हत्या गरेको देखिन्छ। बयानमा पनि उनले हत्या गरेको स्वीकारिसकेका छन्। तर हिजोदेखि गाउँकै अर्को मान्छेले मार्न भनेको कुरा पनि गरिरहेका छन्। घटनामा अरूको पनि संलग्नता हुने हाम्रो पहिल्यैदेखिको आशंका छ। पोलियोग्राफ्र टेष्ट गरेपछि थप कुरा पत्ता लाग्छ। भेटिएका सबुत प्रमाणको फरेन्सिक रिपोर्ट आइसकेपछि घटनामा संलग्नलाई सार्वजनिक गरिनेछ,’ उनले भने।
प्रहरीका अनुसार रायको हत्या गरी रामउजैनले लगाएका गन्जी घर छेउमै फालेका थिए। हत्या गर्न प्रयोग गरेका उखु काट्ने फर्सा घरबाट ५० मिटरको दुरीमा झाडीमा फालेका थिए। ‘धेरै बेरसम्म खुटा थिच्न भन्थे। काम गरिरहँदा धेरै इरिटेट गर्ने, गाली गर्ने गरेका थिए। राति भनाभन भएपछि घरमा रहेको उखु काट्ने फुर्सा प्रहार गरी हत्या गरेको बताएका छन्, ती अनुसन्धान अधिकृतले थपे।
राम उजैन पहिले भट्टीबाट इँटा ओसार्ने काम गर्थे। तीन महिना अघिमात्रै रायको काठमाडौंस्थित घरमा उनी काम गर्न पुगेका थिए। तर त्यहाँ उनको गतिविधि राम्रो नभएको भन्दै फेरि गाउँमा फर्काइएको थियो। त्यसयता रामउजैन रतनपुरमा बसिरहेका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहका अनुसार करिब डेढ महिनादेखि फेरि रतनपुरस्थित रहेको पूर्व राज्यमन्त्री रायको खेतमा रामउजैनले काम गरिरहेका थिए।
हत्याको राति उनले जग्गाको विवाद मिलाइदिनू भन्दै तीन जना अपरिचित व्यक्ति राति करिब ८ बजे घरमा आएको देखेको र उनैले हत्या गरेको हुनसक्ने प्रहरीलाई बताएका थिए।
राति १२ बजेतिर आफू पिसाव फेर्न तल झरेको बेला राय सुत्ने कोठा खुला रहेको र ओछ्यान छेउमा रगतले लतपतिएको अवस्थामा लडेको देखेको रामउजैनको भनाइ थियो। तर विभिन्न कोणबाट अनुसन्धान गरेपछि उनैले रायको हत्या गरी झुक्याउन खोजेको प्रहरीले आशंका गरेका थिए। एसपी सिंहले घटनामा रामउजैनको भूमिका शंकास्पद देखिए पनि फरेन्सिक रिर्पोट आउन बाँकी रहेको र थप अनुसन्धान जारी रहेको बताए।