चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल भन्ने स्थानमा झरेको पहिरोमा परेर बेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि आजदेखि नयाँ प्रविधि प्रयोग गरिएको छ ।
खोजीमा सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको जनाएको प्रहरीले पछिल्लोपटक निजी क्षेत्रको सहयोगमा अत्याधुनिक सोनार क्यामरा प्रविधि प्रयोगमा ल्याएको हो । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले नयाँ प्रविधिमार्फत् आज बिहानैदेखि खोजी कार्य जारी रहेको जानकारी दिए । ‘सोनार क्यामरा त पहिले पनि प्रयोगमा थियो तर यो पहिलेको भन्दा नयाँ र एडभान्स हो,’ प्रहरी प्रवक्ता कार्कीले भने, ‘बाहिरबाट झिकाइएको यो उपकरणले तीन सय मिटर गहिराइसम्मको अवस्थाबारे जानकारी दिन्छ,’ कार्कीले भने ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।
सशस्त्र प्रहरीको गोताखोरसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले बाँसका भाटासहित एयर ड्रोन, वाटर ड्रोन, चुम्बक, बाइनाकुलर, टेलिस्कोप, एङ्कर हुक लगायतका उपकरणमार्फत् खोज्दै आएका थिए । त्यसमा सोमबारदेखि भाडामा लिएर अत्याधुनिक सोनार क्यामरा पनि प्रयोग गरिएको हो ।
आइतबार गृह मन्त्रालयका सचिव, सशस्त्र र नेपाल प्रहरी प्रमुख लगायतको टोली सिमलतालमा पुगेर खोजीमा भइरहेको कामबारे जानकारी लिएका थियो । त्यसपछि अत्याधुनिक सोनार क्यामेरा सिमलताल झिकाइएको हो । नयाँ उपकरणसहित प्राविधिक टोली गएराति नै काठमाडौंबाट सिमलताल पुगेको थियो । सो उपकरण सशस्त्र प्रहरीलाई जिम्मा लगाइएको थियो ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी जनक पुरीका अनुसार यो उपकरणले धमिलो पानी भए पनि नदी भित्र भएको बस्तुको आकृतिबारे जानकारी दिन्छ । एसपी पुरीले अनलाइनखबरसँग भने, ‘अब्जेक्ट गोलो, चारपाटे वा त्रिभुज कस्तो छ त्यो सबै यसले बताउँछ ।’ त्यसको सहयोगमा आज बिहानैबाट बसको खोजी सुरु गरिएको उनले बताए । अहिले बसको खोजीमा ४० जना सशस्त्र प्रहरीका तालिमप्राप्त जनशक्ति र्याफ्टिङ्ग तथा मोटरबोटसहित परिचालित छन् ।
नयाँ प्रविधिले कसरी काम गर्छ ?
चितवनका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार उक्त उपकरणलाई मोटर बोटमा जडान गरेर खोजी कार्य अगाडि बढाइएको छ । सो उपकरणबारे जानकार एक जना प्राविधिकका अनुसार त्यसलाई पानीभित्रको भूबनोटको समेत सर्भे गर्न सकिन्छ । त्यसले एक विशेष किसिमको आवाज उत्पादन गर्छ र उक्त आवाज कुनै पनि वस्तुमा ठोक्किएपछि उक्त वस्तुले आवाज परावर्तन गरेको आधारमा सो वस्तुको आकृति पत्ता लगाउन सकिन्छ ।
सो उपकरणले निरन्तर उत्पादन गर्ने आवाज र कुनै वस्तुले निरन्तर परावर्तन गर्ने आवाजको आधारमा बसको आकृति अनुमान गर्न सकिने हुँदा यसले त्रिशूली नदीमा हराइरहेको बसको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सकिने विश्वास छ । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।