सुर्खेत। कर्णाली प्रदेश सभामा आईतबार बेल घेराउ गरियो । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीलाई रोस्टममा जान नदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाले घेराउ गरेका हुन् ।
प्रतिपक्षी दलहरुले विरोध जनाएपनि सभामुख नन्दा गुरुङले आर्थिक मामिला मन्त्री केसीलाई बोल्न समय दिएपछि सभामा खिचातानी नै भयो । नाराबाजी चल्यो । मन्त्री केसीको कोट र हात समेत तानियो । सोही क्रममा सभामुख गुरुङको पृष्ठभुमीमा बोली सुनियाे ‘छ्या लाजको मर्नु यो !’
सभामुख गुरुङले भनेजस्तै संसदमा लाजको मर्नु हुने अवस्थामा सरकार र प्रतिपक्षी दलहरु जिम्मेवार नभएको देखिन्छ ।
वार्ता र छलफलका माध्यमबाट कर्णालीको सुशासन, समृद्धि र दिगो विकासका लागि नागरिकबाट मौलाएको व्यवस्था र सरकारप्रतिको निरासालाई निमिट्यान्न पार्ने सबैको जवाफदेहिता पुष्टी गर्न प्रतिपक्षले जिम्मेवार ढंगबाट प्रस्तुत हुँदाहुँदै सदन चल्न नसक्ने कांग्रेस सांसद वेदराज सिंहले जानकारी गराएका थिए ।
विरोधको जनाउ गर्दै बोलेको सांसद सिंहले समपूरक र विशेष अनुदान वितरणमा छुटेका स्थानीय तहहरुलाई समेट्नुपर्ने । व्यक्ति किटान गरिएका योजनाहरु कार्यान्वयन गरिनुहुँदैन । शिक्षाको गुणस्तरका लागि एक पालिका एक विद्यालय कार्यक्रम निरन्तर हुनुपर्ने । १५ लाख र ३० लाख भन्दा कम विनियोजन भएका योजना कार्यान्वयन गर्न नहुने लगायतका माग राखिएको जानकारी दिँदै यी विषयमा सहमति नजिक भएपनि सभा सञ्चालनमा हतारिएको टिप्पणी गरेका थिए ।
प्रदेश सरकारबाट तर्जुमा भएका आयोजनालाई बजेटको सीमा गरि ठेक्का प्रकृयाबाट जान सुझाव पेश गरिएको थियो । प्रतिपक्षले दिएका सुझावलाई ग्रहण गरेर सरकार अगाडी बढ्नुपर्ने बेलामा बलमिच्याई तरिकाले बढ्न खोजिएको प्रति सांसद सिंहले आपत्ति जनाए ।
विरोधको जनाउपश्चात सभामुख गुरुङले सामान्य छलफलका क्रममा उठाइएका प्रश्नको सम्बन्धमा जवाफ दिन आर्थिक मामिला मन्त्री केसीलाई समय दिईन् । त्यसक्रममा कांग्रेस र राप्रपा सांसदहरु दौडिएर मन्त्री केसीलाई रोक्न खोजे । उनिहरुले मन्त्री केसीको हात समाएर तान्न खोजे । तर सकेनन् ।
अवरोधलाई छिचोल्दै रोस्टम पुगेका मन्त्री केसीले ‘माननीय सदस्यहरुले उठाएका जवाफ दिएको छु । छोरी खाताको बारेमा बजेटमा व्यवस्था भएको उल्लेख गर्दै माननीय सदस्यले उठाएका प्रश्नको जवाफ यही समाप्त भएको घोषणा गर्छु ।’ उनले भनाई सके ।
लगत्तै सभामुख गुरुङले हतारिदै कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथीको सामान्य छलफल समाप्त भएको जानकारी गराईन् ।
साथै उनले आगामी बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको सूचना सुनाईन् ।
भिडियाेमा हेराैंः