काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेका छन्।
अर्थमन्त्री पुनले काठमाडौं उपत्यकाको चक्रपथबाहिरको स्थानमा खानेपानी वितरण प्रणाली विस्तार कार्य अगाडी बढाइने बताए । मेलम्ची खानेपानी आयोजनामा ५० करोड रुपैयाँ बजेट छुट्याइएको पनि जानकारी दिए ।
उनले आगामी आर्थिक वर्ष खानेपानी सुविधा विस्तारबाट थप ४ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताए ।
अर्थमन्त्री पुनले ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोबिघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने जनाए ।
त्यस्तै धोबिघाट, बालकुमारी र सल्लाघारीमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिने बजेटमा उल्लेख गरिएको छ ।