सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसद पद त्यागेका छन् । विष्टले शुक्रबार पद त्याग गरेको पत्र प्रदेश सभा सचिवालयलाई इमेलमार्फत पठाएका हुन् ।
नेकपा माओवादी केन्द्र प्रदेश सभा दलका प्रमुख सचेतक समेत रहेका विष्ट सुर्खेत क्षेत्र नं. १ ‘क’बाट निर्वाचित भएका हुन् ।
उनले आफु काठमाडौं भएकाले इमेलमार्फत राजीनामा दिएको बताएका छन् ।
माओवादी केन्द्र पार्टी समेत त्याग गरेकोले सांसद पदबाट पनि राजीनामा दिएको विष्टको भनाई छ । पार्टीभित्रको असन्तुष्टिको कारण राजीनामा उचित ठानेको विष्टले बताए ।
यता, इमेलमार्फत सांसद विष्टको राजीनामा प्राप्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
विष्टको राजीनामा प्राप्त भएपनि उनि स्वयंम् उपस्थित भएर सनाखत गरेको अवस्थामा मात्रै राजीनामा स्वीकृति हुने प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
‘सांसद विष्टको राजीनामा हाम्रो इमेलमा प्राप्त भएको छ । इमेलमा प्राप्त राजीनामालाई आधिकारी मानिदैन’ सचिव बुढाथोकीले भने, ‘राजीनामा स्वीकृत हुनका लागि उहाँले सभामुख समक्ष स्वयम् उपस्थित भै सनाखत गर्नुपर्दछ ।’