मदन भण्डारी राजमार्गअन्तर्गत सुुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सडक स्तरोन्नतिको काम सम्पन्न गर्न म्याद थप गरिएकोे छ । तोकिएको समयभित्र धुलियाविट–भेडाबारी खण्डमा काम नसकिएपछि म्याद थप गरिएको हो ।
२०८१ भदौ १४ गतेसम्मका लागि म्याद थप भएको मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनले जानकारी दिनुभयो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७८ असार २८ गतेदेखि योजना कार्यान्वयनमा आएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको भए पनि काम सम्पन्न नभएपछि म्याद थपिएको बताइएको छ ।
धुलियाविट–भेडाबारी ३५ किलोमिटर सडक स्तरोन्नतिका लागि एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा ठेक्का सम्झौता गरिएको छ । निर्माणको जिम्मा कालिका केएस बेदान्सी जेभी कैलालीले लिएको छ ।
हालसम्म ६१ करोड ७५ लाख खर्च भएको जनाइएको छ । अहिलेसम्म १५ किलोमिटर सडक कालोपत्रे भएको छ । २० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । दश किलोमिटर सडक कालोपत्रेका लागि तयार पारिएको, पाँच किलोमिटरमा वेस निर्माण गरिएको, पाँच किलोमिटरमा सव–वेस निर्माणको काम सम्पन्न भएको राजमार्ग कार्यालयले जनाएको छ ।
अहिले सडकमा वेस र सव–वेसको काम भइरहेको जनाइएको छ । जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्टजस्ता कामहरू सकिएर कालोपत्रे लगायतका काम गर्न मेशिनरी उपकरण प्रयोग गरिरहेको कार्यालयका इन्जिनियर हरिजनले बताउनुभयो । असारसम्म २५ किलोमिटर सडक कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको उहाँको भनाइ छ ।