रुकुमपश्चिम सिँंचाइ नहर भत्काएर सडक बनाउन थालिएको छ । जिल्लाको मुसीकोट नगरपालिका–१ र २ मा रहेको घट्टखोला खालीगैरा सिँचाइ आयोजनाको नहर भत्काएर सडक बनाउन थालिएको हो । आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको उक्त आयोजनाको काम पूरा नहुँदै भत्काउन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले नहरको ९५ प्रतिशत काम सकिएको बेला भत्काएर सडक बनाउन थालिएको जानकारी दिनुभयो । नहर भत्काएर सडक बनाउँदा वडा नं २ को क्षेत्रमा रहेको करिब ३० हेक्टर खेतियोग्य जमिन बाँझै हुने उहाँको भनाइ छ । क्रमागत योजना अन्तर्गतको उक्त नहर बनाउन हालसम्म ६५ लाख रकम खर्च भइसकेको छ ।
२०३२ सालदेखि कुलो बनाएर यहाँ सिँचाइको सुविधा हुँदै आएको छ । स्थानीय किसान दिवसा ओली खड्काले बल्लतल्ल बनेको नहर अब सडक हुने दुर्दशा भएको बताउनुभयो । नहर नरहेपछि खेतीयोग्य जमिन बाँझै रहने पीर उहाँलाई छ । नहर नभत्काइदिन स्थानीय सरकारसमक्ष किसान गएर माग गर्दा पनि कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । नहरबाट सिँचाइ भएपछि यहाँ गहुँ, धान, मकै, तरकारी खेती हुँदै आएको छ । भर्खरै बनेको नगर भत्काएर फेरि सडकको नाममा ठुलो धनराशि खर्च हुने र किसानलाई मर्का पर्ने काम नगर्न स्थानीयले माग राखेका छन् ।
दुईतिरबाट सडक बनाउन सुरु
एक हजार आठ सय मिटर लामो नहरको करिब छ सय मिटर भाग सडकमा परेको छ । ‘पातुखोला–घट्टखोला–खालीगैरा वडा नं २ ‘पशुपति मावि’ नामको उक्त सडकमा दुई विकासे कार्यालयको लगानी रहेको छ । नहरको खोलाको मुहान क्षेत्रमा सङ्घीय आयोजना कार्यान्वय एकाइ सुर्खेत र गाउँतर्फको भागबाट पूर्वाधार विकास कार्यालय चौरजहारीबाट ठेक्का सम्झौता गरेर काम सुरु भएको छ । सङ्घीय कार्यालयसँग ४२ लाख र पूर्वाधार विकास कार्यालयसँग २३ लाखमा ठेक्का सम्झौता गरेर निर्माण व्यवसायीले डोजर लगाएका छन् ।
साभार गाेरखापत्र