काठमाडाैं । वन्यजन्तुको अखेटोपहार ओसारपोसारमा कुनै न कुनै कारण जोडिन्छन् । औषधीय, सांस्कृतिक वा अन्य गुणलाई आधार मानेर वन्यजन्तुको अवैध चोरीसिकार हुने गरेको छ । तर तिनको वैज्ञानिक पुष्टिको आधार भने देखिँदैन । रेड पान्डाको सवालमा कुनै पनि कारण खुल्दैन । अनुसन्धानकर्ताहरुले यसको कुनै अंगको औषधीय प्रयोग पनि छैन न त यसको मासु खान नै योग्य मानिन्छ ।
क्विन्सल्यान्ड विश्वविद्यालयमा रेड पान्डामा विद्यावारिधि गरिरहेका रेड पान्डा नेटवर्क नेपालका डम्बर विष्टको यो जीवको तस्करी सम्बन्धमा सन् २०२० मा आलेख प्रकाशित भएको थियो । उक्त आलेखले रेडपान्डा औषधीय र सांस्कृतिक रुपमा प्रयोग नभएको देखाउँछ । पुराना अनुसन्धानहरुमा यसको रौं चीन र भुटानमा ह्याट बनाउनका लागि प्रयोग हुने भनिए पनि २०१८मा प्रकाशित एक आलेखले त्यस्ता ह्याटहरु नभेटिएको उल्लेख छ ।
जिल्ला वन कार्यालय काठमाडौंकी सहायक वन अधिकृत धनमाया सुनुवार रेडपान्डाको तस्करी ‘आर्टिफिसियल क्रिएटेड मार्केट’ भएको बताउँछिन् । ‘यो रेड पान्डाको तस्करी हुनुको कारण हामीले पनि थाहा पाउन सकेका छैनौं । यसका न त छाला र मासु नै प्रयोग हुन्छ न अन्य अंग नै,’ कार्यालयको वन्यजन्तु अपराध महाशाखाकी प्रमुख समेत रहेकी सुनुवारले भनिन्,‘होहल्ला गरेको भरमा, यति पैसा आउँछ भनेर आर्थिक प्रलोभनमा परेर मानिसहरु ओसारपसारमा लागेका हुन् ।’
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) का प्रवक्ता एसपी श्याम महतो रेड पान्डा मारिनुको कारण आफूहरुले अहिलेसम्म पत्ता लगाउन नसकेको बताउँछन् । उनी भन्छन्,‘रेड पान्डाको चोरीसिकार भएको छ तर केका लागि भने कुनै कारण नै खुल्दैन । यसको छाला केहीमा प्रयोग भएको हामीले पाएका छैनौं । विदेशमा पनि यसको कुनै बजार छैन । यो जीवबारेको बुझाइ अभावमा मारिने गरेको छ ।’