सुर्खेत । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीबाट ३५ हजार ८०८ जना विद्यार्थी सहभागी हुँदै छन् ।
शिक्षा विकास निर्देशनालयका अनुसार गत वर्ष कर्णालीमा १८६ वटा परीक्षा केन्द्रबाट ३८ हजार ९७० जना विद्यार्थी एसईईमा सहभागी थिए । पछिल्ला केही तथ्याङक अनुसार कर्णालीमा एसईई दिने परीक्षार्थीको सङ्ख्या घट्दै गएको छ । गत वर्षको तुलनामा यो वर्ष ३ हजार १६२ जना विद्यार्थी घटेको देखिन्छ ।
प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसईईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार ६२३ छात्र र १८ हजार १५८ छात्रा छन् ।
जिल्लागत विवरण यस्तो छ
जिल्लागत विवरण अनुसार सबैभन्दा धेरै सुर्खेतबाट ८ हजार ३४८ जना विद्यार्थीले एसईई दिँदैछन् । यहाँ ३३ वटा परीक्षा केन्द्र तोकिएको छ ।
हिमाली जिल्लामा विद्यार्थीको संख्या निकै न्यून देखिन्छ । सबैभन्दा कम डोल्पामा जम्मा ७३३ जना विद्यार्थीले एसईई दिँदैछन् । यहाँ चार वटामात्रै परीक्षा केन्द्र तोकिएको छ ।
हुम्लामा ६ वटा परीक्षा केन्द्र छन् भने परीक्षार्थी एक हजार १९५ छन् । मुगुमा ८ वटा परीक्षा केन्द्र र १ हजार ११३ परीक्षार्थी छन् । यस्तै २४ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा ३ हजार ७३६ जना परीक्षार्थी छन् ।
रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र छन् भने ३ हजार ५९३ जना परीक्षार्थी छन् । ४ हजार ५८२ परीक्षार्थी रहेको सल्यानमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ ।
जुम्लामा २ हजार ५५७ परीक्षार्थीका लागि १६ परीक्षा केन्द्र तोकिएको छ । जाजरकोटमा २२ परीक्षा केन्द्रमा ४ हजार ६९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्रमा ५ हजार २५७ परीक्षार्थीले एसईई दिँदैछन् ।