रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–३ ले विवाहको निम्तो कार्ड (निमन्त्रणा पत्र)मा बेहुला बेहुलीको जन्ममिति अनिवार्य लेख्नुपर्ने नियम बनाएको छ । वडा कार्यालयले बाल विवाहविरुद्धको कानुन कार्यान्वयनको क्रममा यस्तो कार्य गर्न थालेको सूचनामार्फत जानकारी गराएको हो ।
वडाध्यक्ष केशरमान विकले वडा क्षेत्रमा हुने विवाहमा निमन्त्रणा गरिने कार्डमा अनिवार्य रूपमा बेहुला बेहुलीको जन्मदर्ता उल्लेख गरिएको जानकारी दिए । यसका साथै निमन्त्रणा कार्डमा नै विवाह गर्ने घरमा मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने, नगराउने प्रतिबद्धतासमेत उल्लेख हुनुपर्ने नियम बनाइएको छ ।
यस वडामा मदिरा र सुर्तीजन्य पदार्थ निषेध गरिएको छ । वडा अध्यक्ष विकले २०७५ मङ्सिर २५ गतेदेखि वडामा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको र २०७९ मङ्सिर ५ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनमा रोक लगाइएको जानकारी दिए ।
बाल विवाहविरुद्धको कानुनी व्यवस्था कार्यान्वयनतर्फ कडाइका साथ लागेको र यसका लागि विवाहको निमन्त्रणा कार्डलाई पनि उपयोग गर्न खोजिएको वडाध्यक्ष विकको भनाइ छ । विवाहको कार्डमा नै यस्तो खबर पठाइएमा बाल विवाह नियन्त्रण हुने र सार्वजनिक स्थान तथा समारोहमा मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग बन्द हुने वडा कार्यालयको विश्वास छ । यसअघि वडाले बाल विवाहविरुद्ध अन्तरक्रिया, सचेतना र गाउँमा हुने केही बाल विवाहलाई रोक्ने काम गरेको छ ।