काठमाडौं । भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको यात्रुवाहक विमान जुन १२ मा दुर्घटना हुँदा दुई सय साठी जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । दुर्घटनाको केही क्षणअघि विमानका दुवै इन्जिनमा इन्धन आपूर्ति रोकिएको पुष्टि भएको हो।
भारतको विमान दुर्घटना अनुसन्धान विभाग (एएआईबी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, विमानले उडानपछि अधिकतम गति लिएको केही सेकेन्डमै इन्जिन–१ र इन्जिन–२ का इन्धन नियन्त्रण स्विचहरू ‘सञ्चालन’ बाट ‘बन्द’ स्थितिमा क्रमशः एक सेकेन्डको अन्तरमा सारिएका थिए ।
ककपिटमा रेकर्ड गरिएको कुराकानीमा एक पाइलटले अर्का पाइलटलाई सोधेका छन्, ुतपाईंले इन्धन किन बन्द गर्नुभयोरुु जवाफमा उनले ‘मैले बन्द गरेको होइन’ भनेका छन् । त्यसपछि विमानले केहीबेरमै जमिनमा खसेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
दुर्घटनापछि इन्धन आपूर्ति पुनः सुरु भएको र इन्जिन सञ्चालनमा आउने संकेत देखिए पनि पाइलटले ‘आपतकालीन सन्देश’ पठाइसकेका थिए । त्यसपछि विमान पूर्ण रूपमा नियन्त्रणबाहिर गएको थियो ।
प्राविधिक त्रुटि छैन
प्रतिवेदनमा सन् २०१८ मा संयुक्त राज्य विमान नियामक निकायले इन्धन नियन्त्रण प्रणालीमा लक गर्ने प्रविधि असफल हुन सक्ने विषयमा जानकारी दिएको स्मरण गरिएको छ । तर, यो बाध्यकारी निर्देशन नभएको भन्दै एयर इन्डियाले सो सुझाव अनुसार निरीक्षण नगरेको जनाएको छ । प्रतिवेदनमा विमान निर्माता तथा इन्जिन निर्माता कम्पनीको तर्फबाट कुनै प्राविधिक कमजोरी नदेखिएको जनाइएको छ । साथै, विमान सञ्चालनसम्बन्धी सम्पूर्ण निर्देशनहरू पालना गरिएको पनि उल्लेख छ ।
एक जना मात्र बाँच्न सफल
दुर्घटनामा एक जना मात्र यात्रु जीवित रहेका छन्, जो बेलायतका नागरिक हुन् । उनी विमान दुर्घटनापछि केही दूरी हिँडेर सुरक्षित स्थानमा पुगेका थिए र अहिले स्वास्थ्य संस्थाबाट घर फर्किसकेका छन् । विमानमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य रहेका थिए । दुर्घटनाका कारण जमिनमा रहेका १९ जनाको पनि ज्यान गएको छ भने केही घाइते भएका छन् ।
अनुसन्धान अझै जारी
दुर्घटनाको कारण अझै पूर्ण रूपमा पुष्टि भइसकेको छैन । अन्तर्राष्ट्रिय विज्ञ, विमान निर्माता कम्पनी, इन्जिन निर्माता तथा सम्बन्धित निकायहरू मिलेर अनुसन्धान गरिरहेका छन् । बाँकी प्रमाण संकलन तथा विश्लेषणको कार्य जारी रहेको छ ।
एयर इन्डियाले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ भने विमान निर्माता कम्पनीले प्रभावित सबैप्रति समवेदना व्यक्त गरेको छ ।