दक्षिण एसियाली फुटबलमा उमेर समूहको फुटबल मध्ये नेपाली यू-१९ टिमको इतिहास समृद्ध छ । सन् २०१५ मा नेपालबाटै सुरु भएको साफ यू-१९ च्याम्पियनसिपको पहिलो संस्करणमै नेपाल च्याम्पियन बनेको थियो ।
सुरुवाती दुई संस्करणमा उपाधि जितेको नेपालले त्यसपछि उपाधि जित्न सकेको छैन । सन् २०१५ मा यू-१९ को नामबाट सुरु भएको यस प्रतियोगिता दुई संस्करण साफ यू-१८ र दुई संस्करण साफ यू-२० को नामबाट भएको थियो ।
समग्रमा सातौं संस्करण हुन लागेको यस प्रतियोगितामा साफ यू-१९ को नामबाट तेस्रो पटक हुन लागेको हो ।
नेपालपछि भारतले तीन पटक र बंगलादेशले एक पटक उपाधि जितिसकेको छ । गत वर्ष नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको थियो ।
पछिल्लो चार संस्करणमा उपाधि जित्न नसकेको नेपाली टोली यस पटक साफ यू-१९ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित मंगलबार भारत जाँदैछ ।