कर्णाली । कालिकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा कुटपिट हुँदा एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बुधबार राति हस्तबहादुर मल्लको घर पछेटा हेर्न जम्मा भएका युवाहरूबीच विवाद हुँदा झगडा भएको थियो।
सोही क्रममा कुटपिट हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिए। झगडामा संलग्न १६ वर्षीय भुपेन्द्र शाही घाइते भएका छन्।
घटनामा संलग्न रहेको आरोपमा खाँडाचक्र–९ का विवेक मल्ल र १४ वर्षीय दीपेन्द्र मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए।
प्रहरीका अनुसार नातेदारको घरमा रमाइलो हेर्न आएका किशोरहरूबीच विवाद बढ्दै जाँदा खुकुरीसमेत प्रयोग गरिएको देखिएको छ। घटनास्थल सदरमुकाम मान्मबाट करिब ३५ किलोमिटर टाढा पर्छ। घटनाबारे जानकारी पाएलगत्तै बिहीबार बिहान डीएसपी रावतसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।
मृतक शाहीको शव पोस्टमार्टमका लागि सदरमुकाम मान्म लगिएको छ।