सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत आउँदैछन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत आउन लागेका प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार ओली आज बिहान ११ बजे सुर्खेत पुग्ने कार्यक्रम रहेको छ । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा ओली सहभागी हुनेछन् । दीक्षान्त समारोह उपसमितिका संयोजक सहप्राध्यापक डाक्टर लिलाधर तिवारीका अनुसार प्रधानमन्त्री ओली साढे ११ बजे विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा सहभागी हुनेछन्।
विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले दीक्षान्त दीक्षान्त समारोहको अध्यक्षता गर्नेछन् । दीक्षान्त समारोहमा भारतको सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक एवम् जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा महेन्द्र पी लामाको प्रमुख आतिथ्यता रहनेछ ।
दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट तीन वर्षको ब्याजका तीन जलाई कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका तीन जनालाई उपकुलपति पदक, डीन लिष्टमा परेका स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जनाले प्रमाणपत्रसहित पदक पाउने छन् । दीक्षान्त समारोहमा तीन हजार ८४१ जना विद्यार्थीहरू दीक्षित हुनेछन् ।
दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्य तालिका छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार साढे दुई बजे प्रदेशसभामा मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीको स्वागत गर्नेछन् । लगत्तै प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुनेछ ।
प्रदेशसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्नेछन्। तीन वर्षअघिनै निर्माण सम्पन्न भएर पठन–पाठन भइरहेको भवन प्रधानमन्त्रीले दिउँसो साढे ३ बजे उद्घाटन गर्नेछन् । सानो सुर्खेतमा रहेको इन्जिनियरिङ भवनको उद्घाटनपछि प्रधानमन्त्री ओली कर्णाली प्रदेश सरकारको गौरवको योजना कर्णाली रङ्गशालाको निरीक्षण गर्नेछन् ।
आगामी जेठमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तय गरिएको रंगशाला निरीक्षण गर्न उनी अपराह्न ४ बजे पुग्ने कार्यक्रम छ । रंगशाला निरीक्षणपछि प्रधानमन्त्री ओली काठमाडौं फर्किने छन्।