नेपाली कांग्रेसका सभापति, उपसभापति र महामन्त्रीले चैतभित्र महाधिवेशन गर्न नसके पुनः अवधि थप्न नसकिने भ्रातृ संस्थाका अध्यक्षहरूलाई जानकारी गराएका छन् ।
पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार तदर्थ समितिमा रहेका सबै भ्रातृ संस्थालाई चैतभित्र महाधिवेशन गर्नुपर्ने छ ।
पार्टीले अन्तिमपटक भन्दै चैत मसान्तसम्मका लागि सबै तदर्थ समितिको म्याद थपेको थियो । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी, भ्रातृ संस्थाको निर्देशक समिति र भ्रातृ संस्थाका प्रमुखहरूको बैठक बसेको थियो ।
सभापति शेरबहादुर देउवा सहभागी बैठकमा भ्रातृ संस्थाका निर्देशक समितिका संयोजक र संस्थाका प्रमुखहरुले अहिलेसम्मको अवस्था ब्रिफिङ गरेका थिए ।
उनीहरूको धारणा सुनिसकेपछि चैतभित्र महाधिवेशन गर्न द्रुत गतिमा काम गर्न सभापति देउवाले निर्देशन दिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।
‘अब म्याद थप्ने कुरा हुँदैन भन्नुभएको छ,’ विश्वकर्माले भने ।
महामन्त्री गगन थापाले भ्रातृ संस्थाको अधिवेशन गराउन पार्टीले सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । थापाले चैतपछि अवधि थप्न नसकिने बताए ।
‘निर्वाचित नेतृत्व आओस् त्यसका लागि पार्टीको सहयोग रहन्छ नै । महाधिवेशन नगर्न अब हामीसँग विकल्प पनि छैन । अब हामीले न म्याद थप्न सकिँदैन,’ छलफलमा थापाले भने ।
महाधिवेशन गराउन समस्यामा रहेका भ्रातृ संस्थाहरूको सन्दर्भमा सभापति देउवासँग छलफल गरेर निकास दिने महामन्त्री थापाले वचन दिए ।
कांग्रेसका १३ भ्रातृ संस्थामध्ये निर्वाचित कार्यसमिति दुई वटामा मात्रै छ । आजको छलफलमा महिला संघ र दलित संघमा महाधिवेशन गराउन कठिन रहेको ब्रिफिङ गरिएको थियो ।
दलित संघको अधिवेशन गराउनका लागि पार्टीले गठन गरेको निर्देशक समिति र संघबीचमै विवाद बैठकमा देखिएको सहभागी नेताले बताए । दलित संघको अधिवेशन गराउनका लागि पार्टीबाट सहमहामन्त्री जीवन परियारलाई निर्देशक समितिको संयोजक तोकिएको छ ।
चैत ५ मा स्ववियु निर्वाचनमा लाग्नु परेकाले नेविसंघले पनि चैतभित्र महाधिवेशन गराउन कठिन रहेको बैठकमा छलफल भएको थियो । महिला संघमा सदस्यता र कतिपय जिल्लामा समानान्तर कार्यसमिति भएकाले समस्या रहेको निर्देशक समिति र संस्थाका प्रमुखले जानकारी गराएका थिए ।
महिला संघमा केही जिल्लामा नेता डा. शेखर कोइराला पक्षले समेत अध्यक्ष तोकेको छ । २/३ भ्रातृ संस्था बाहेक अन्यको तोकिएको समयमा अधिवेशन गराउन समस्या नरहेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी गराइन् ।
नेविसंघको निर्देशक समितिको सदस्य समेत रहेकी गौतमले भनिन्,‘अपाङ, तरुण दल, संघको अधिवेशन सुरु भइसक्यो । नेविसंघ पहिले स्ववियु निर्वाचनमा केन्द्रीत भएर महाधिवेशनतिर लाग्ने कुरा भएको छ,’ गौतमले भनिन् ।
दलित संघमा अध्यक्ष नै समस्याका रुपमा रहेको बैठकमा विषय उठेको थियो । दलित संघमा काम नगरेका लोकबहादुर विश्वकर्मालाई संघको नेतृत्व दिँदा समस्या उत्पन्न भएको बैठकमा सहभागीले बताएका थिए ।
‘उहाँ आफू पनि नजान्ने, अरुलाई पनि नटेर्ने र अहिलेसम्म दलित संघमा काम नगरेको व्यक्ति अध्यक्ष हुनु उहाँ आफैं नै समस्या हो भन्ने कुरा उठे,’ बैठकमा सहभागी नेताले भने ।
भ्रातृ संस्थाले महाधिवेशन गर्नै नसक्ने अवस्था बनेपछि पार्टीले समन्वय र सहजीकरणका लागि केन्द्रीय नेताहरु खटाएको छ । नेविसंघको तदर्थ समितिलाई महाधिवेशन गराउने गठित निर्देशक समितिको संयोजकको जिम्मेवारी सहमहामन्त्री किशोरसिंह राठोरलाई दिइएको छ ।
उक्त समितिमा केन्द्रीय सदस्यद्वय राजिव ढुंगाना र प्रतिमा गौतम सदस्य छन् । तरुण दलका लागि सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ संयोजक रहेको निर्देशक समिति सदस्यमा दुई केन्द्रीय सदस्य सरिता प्रसाई र जीतजंग बस्नेत सदस्य छन् ।
महिला संघको लागि निर्देशक समितिमा संयोजक प्रवक्ता डा. प्रकाशशरण महत छन् भने सदस्यहरूमा केन्द्रीय सदस्य पुष्पा भुसाल र रुक्मिणी कोइराला छन् ।
दलित संघका लागि निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार र सदस्यमा लक्ष्मी परियार र शान्ति विक छन् । किसान महासंघको निर्देशन समितिको संयोजकमा रमेश रिजाल, सदस्यहरुमा राजेन्द्रकुमार केसी र अञ्जनी श्रेष्ठलाई जिम्मेवारी पाएका छन् ।
भूतपूर्व सैनिक संघको अधिवेशन गराउन पार्टीबाट निर्देशन समितिको संयोजकमा एनपी साउद, सदस्यमा टेकप्रसाद गुरुङ र महेन्द्रकुमारी लिम्बु, लोकतान्त्रिक खेलकुद संघको निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, सदस्यहरूमा उमेशजंग रायमाझी र गणेश लामा छन् ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघमको निर्देशन समितिको संयोजकमा मधु आचार्य, सदस्यहरुमा सरस्वती बजिमय र मदनकृष्ण श्रेष्ठ, थारू संघको निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा, सदस्यमा गोपाल दहित र योगेन्द्र चौधरी छन् ।
प्रजातन्त्र सेनानी संघको निर्देशन समितिको संयोजकमा प्रा.डा. गोविन्दराज पोखरेल सदस्यमा मुक्ताकुमारी यादव र कान्तिका सैजुवाल छन् ।