कर्णाली । सुर्खेतमा झोलुंगे पुल मर्मत गर्ने क्रममा २ जना भेरी नदीमा खसेर वेपत्ता भएका छन् । जिल्लाको बराहताल गाउँपालिका-४ को कुटा र पञ्चपुरी नगरपालिका-१० को चाम्री जोड्ने झोलुंगे पुल मर्मतका क्रममा २ जना मजदुर भेरीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ का २४ वर्षका अनिल घर्ती र सोही ठाउँका १८ वर्षका अर्जुन झाक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए ।
उनीहरू पुलका लागि लठ्ठा बाँध्ने क्रममा खसेर बेपत्ता भएका उनले बताए । उनका अनुसार उनीहरूको खोजीका लागि बाबियाचौरबाट प्रहरी निरीक्षकको टोली र वीरेन्द्रनगरबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा जाँदैछ ।