सप्तरीको राजविराज विमानस्थलमा सोमबारदेखि राति पनि उडान हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ सिस्टम (आइएफआर) प्रणाली राखेको छ। आइएफआरमा यन्त्रको सहायताबाट उडान/अवतरण नियमन हुन्छ। त्यसैले कम भिजिबिलिटी हुँदा र राति पनि उडान गर्न सकिन्छ।
गत शुक्रबार प्राधिकरण र बुद्ध एयरका प्राविधिकहरूको सहभागितामा यहाँ गरिएको परीक्षण उडान सफल भएको थियो। यसअघि राजविराज विमानस्थलमा भिजुअल फ्लाइट रूल (भिएफआर) उडान मात्र हुन्थ्यो। आइएफआर प्रणाली भएपछि अब भने दुई हजार मिटरको भिजिबिलिटी र रात्रिकालीन समयमा पनि उडान/अवतरण हुनेछ।
सामान्यतया विमानस्थलहरूमा दुई प्रणालीमा उडान/अवतरण हुन्छन्; भिएफआर र आइएफआर। यी दुई नियमको प्रमुख फरक भनेको, भिएफआर अन्तर्गत पाइलटले आफै ककपिटबाट अगाडि हेरेर उडान/अवतरण नियमन गर्छन् भने आइएफआरमा यन्त्रको सहायताबाट नियमन हुन्छ।