गण्डकी। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो ।
गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।
लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि आज पनि उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा प्रदर्शन गरेको छ ।
राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको बताउँदै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।