कर्णाली । लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् । लामो समयदेखि बिरामी परेका शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।
उपचार सम्भव नभएपछि राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल जाँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसी जानकारी दिए ।
उनका अनुसार मृतक युवा ६ महिनादेखि बिरामी थिए । उपचार गर्न अस्पताल जान नमान्ने राउटे समुदायलाई सम्झाई बुझाई गर्दा बल्ल भदौ ३१ मा उपचार गर्न सहमति जनाएका थिए ।
गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याइएको उनले बताए । खकार चेक गर्दा क्षयरोग रोग देखियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिए ।
‘क्यान्सर पो हो कि भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन्,’बिसीले भने, ‘अस्पतालले डिस्चार्ज गरिदियो । फर्किँदै गर्दा बाटोमा मृत्यु भएको हो ।’
उनी राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसंख्या घटेर १३४ मा झरेको छ ।
२०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जनाए ।