कर्णाली । कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । पाँच दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध सडक आइतबार साँझदेखि सञ्चालनमा आएको हो । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठविस नगरपालिका–५, को मालाचौरदेखि कालिकोटको शुभकालिका गाउँपालिका–१, को हुल्म बजारसम्मको सडक खण्डको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको हो ।
यो खण्डमा पर्ने दही खोला, एससमोड, मेयरखोला, गगने खोला लगायतका ठाउँमा ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि साविक कर्णालीका चार जिल्ला यातायात सेवाबाट पूर्ण रूपमा अलग भएका थिए । सडक सञ्चालनमा आएसँगै रोकिएका सबै यात्रु तथा मालबहाक सवारीहरु गन्तव्यतर्फ हिँडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता एवंम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।
उनका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर हिँडेका करिब ४५ बढी ट्रकहरु पाँच दिनदेखि अलपत्र परेका थिए । ‘गत बुधबारदेखि अवरोध सडक आइतबार बेलुकादेखि सञ्चालनमा आएको छ । खाडाँचक्र नगरपालिका–३ को ताडीमा जुम्लाबाट आएका स्याउका ४५ मिनीट्रक रोकिएका थिए । ती मध्ये अधिकांश आफ्नो गन्तव्यतर्फ लागेका छन्,’ प्रहरी निरीक्षक थापाले भने ।
जुम्लाबाट बजार पठाइएका स्याउका ४५ ट्रक अर्थात्, एक सय सात टन (करिब सात करोड मूल्य बराबर) को स्याउ कालिकोटको खाडाँचक्र नगरपालिका–३ को ताडी बसपार्कमा रोकिएका थिए । यस्तै, सडक डिभिजन जुम्लाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ । कार्यालयका प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिए । यो राजमार्ग भएर यात्रा गर्दा सावधानीसमेत अपनाउन कार्यालयले आग्रह गरेको छ । सडक डिभिजन कार्यालय जुम्ला र सुर्खेतको चार दिनको निरन्तर प्रयासपछि कर्णाली राजमार्ग सञ्चालनमा आएको हो ।