सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा तत्काल युवा नीति ल्याउने बताएका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रदेशमा युवा नीति आवश्यक भएको बताए ।
प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर हुँदा चाहेजस्तो काम गर्न नसकेपनि आफ्ना प्रयासहरु भने निरन्तर हुने बताए । उनले आन्तरिक स्रोत कमजोरीका कारण पनि संघीय सरकारले दिएको बजेटका आधारमा नीति बनाउनुपर्ने बाध्यकारी अवस्थालाई प्रस्तुत गरे ।
यौनिक तथा लैंगिक अल्पसंख्यक, दृष्टिविहीन अपांगता लगायतका लक्षित वर्गका व्यक्तिहरुका लागि प्रादेशिक शिक्षा नीतिबाट उचित व्यवस्था हुने अपेक्षा गरे । त्यसका लागि तत्कालै प्रदेश सरकारले नीति ल्याउने जानकारी दिए ।
खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिँदै आफुले पदभारका क्रममा गरेको पहिलो निर्णय बारे युवाहरुलाई जानकारी गराए ।
युवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा डिजिटल सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।