काठमाडौँ । नैतिक चरित्रमा व्यापक प्रश्न उठेका निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले संसदीय सुनुवाई समितिबाट अनुमोदन नहुने भएपछि आफैं नाम फिर्ता लिएका छन् । उनले संसदीय सुनुवाइ समितिलाई पत्र पठाइ आफू प्रक्रियाबाट अलग भएको जानकारी गराएका हुन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानको पत्र आएको जानकारी दिए । नाम फिर्ता लिने तयारी गरेपछि संसदीय सुनुवाई समितिको बैठक सोमबार बिहान साढे ११ बजेबाट अपरान्ह ५ बजेका लागि सारिएको थियो । समितिको ५ बजे बस्ने बैठकमा पत्र प्रस्तुत हुन्छ अनि त्यसपछि समितिले आवश्यक निर्णय गर्छु प्रवक्ता गिरीले भने ।
उच्च स्रोतका अनुसार प्रधानकोबारेमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि कुराकानी भएको थियो । यौन शोषणको आरोप लागेका प्रधानकोबारेमा पीडित महिलाले समितिमै आएर बयान दिइसकेको र उनको चरित्रमा व्यापक प्रश्न उठेकाले नाम अघि बढाउन नसकिने साझा निष्कर्षमा ओली र देउवा पुगेका थिए । सोमबार कांग्रेस र एमालेका सांसदहरूले पनि आन्तरिक छलफल गरी अनुमोदन नगर्ने निष्कर्ष निकालेका थिए ।
त्यसबारे जानकारी पाएपछि आफ्नो रक्षाका लागि प्रधानले समितिको बैठक बस्नु अघि नै नाम फिर्ता लिने बाटो अपनाएका हुन् । संसदीय समितिबाट अस्वीकृत भएपछि उनको चरित्रमाथिको प्रश्नको वैधानिकीकरणु हुने भएकाले प्रधान समिति उक्त निष्कर्षमा पुग्नु अगावै बाहिरिएका हुन् । सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकोले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारीप्रति निष्ठावान् रहने वचनबद्धतासहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेको, उनको पत्रमा उल्लेख छ ।