गण्डकी । पोखरा महानगरपालिका वडा नम्बर २१ गुड्कुमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीय आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्सु विक रहेका छन ।
दुर्घटनामा परेर आरतीको मृत्यु भएको थियो भने छोरा प्रिन्सुको उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । ‘आमाले छोरालाई काखमा लिनुभएको रहेछ, आमाको मृत्यु भइसकेपछि उपचारकै क्रममा छोराको पनि मृत्यु भयो,’ एसपी थापाले भने ।
सोमबार विहान ग १ क ६२१९ नम्बरको स्कुल बस रामदीबाट पोखरा आउँदै गर्दा ५० मिटर तल खसेर दुर्घटना भएको थियो। बस दुर्घटना भएपछि कास्की प्रहरी प्रमुख एसपी थापाको कमाण्डमा ५५ जना प्रहरी उद्धारमा खटिएका थिए । पोखराको बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गर्दा उक्त दुर्घटना भएको थियो।
दुर्घटनामा परेर विद्यार्थी र बस चालक तथा सहचालक गरी २८ जना घाइते भएका छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल अस्पताल र गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा विद्यार्थी, शिक्षक र अभिभावकसमेत सवार थिए ।