काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।
मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिकार उनीहरुका छोरा हुन् । प्रिजाका बुबा प्रकाश खतिवडाले ज्वाइँ मनुराज प्राविधिक भएको बताएका छन । उनले ज्वाइ प्राविधिक भएको बताएपनि सौर्य एयरलाइन्सकै कर्मचारी भए–नभएको खुलाएनन् । तर, सौर्य एयरलाइन्सले भने उनीहरु सबै कर्मचारी भएको आफ्नो विवरणमा उल्लेख गरेको छ । पारिवारका अनुसार प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् । यस्तै अधिकार बने नाबालक हुन् ।
उड्नेबित्तिकै जहाज दाहिनेतिर मोडिन गई दुर्घटना भयो : प्राधिकरण
नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ । जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ