मधेश । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको टाउको मुनि धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले अहिलेसम्म कुनैपनि ‘क्लू’ भेटाउन सकेको छैन।
आइतबार राति चन्द्रनगर गाउँपालिका-१ स्थित रतनपुरमा रहेको फार्म हाउसमा भएको उनको हत्या प्रकरणमा अहिलेसम्म केही पत्ता नलागेको प्रहरीले जनाएको छ। सोमबार प्रहरीले उनको हत्यामा प्रयोग भएको भनिएको (फर्सा) उखु काट्ने धारिलो हतियार रगत लागेको अवस्थामा घरबाट ५० मिटरको दुरीमा रहेको झाडीमा फेला परेको थियो।
प्रहरीका अनुसार घटनाको राति रायसँगै उक्त घरमा काम गर्ने सहयोगी कविलासी नगरपालिका–३ स्थित मदनपुर घर भएका २१ वर्षीय रामउजैन राय यादव समेत थिए। राय काठमाडौंबाट एक साताअघि मलंगवास्थित घरमा आएका थिए। आइतबार साँझ राय धान रोपाउन भन्दै ‘फार्म हाउस’ आएका हुन्।
त्यसै साँझ साढे ७ बजेतिर रतनपुरकै इन्दल ठाकुरको घरमा पितृश्राद्ध प्रसाद खाएर उनी फार्म हाउस फर्केका थिए। रायसँगै त्यहाँ रहेका रामउजैन नातामा उनको नाती पर्थे। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार २०७२ सालदेखि नै काठमाडौंस्थित रहेको रायको घरमा उनले काम गर्दै आएका थिए।
खेती गर्ने बेला भएपछि उनी रायसँगै काठमाडौंबाट आएका थिए। हत्या भएको राति करिब ९ बजे हजुरबुवाले छतमाथि सुत्न जाऊ भनेर पठाए पछि सुत्न गएको र त्यसपछि के भएको आफुलाई थाहा नभएको भनी उनले प्रहरीलाई बयान दिएका छन्।
उनले जग्गाको विवाद मिलाइदिनु भन्दै तीन जना अपरिचित व्यक्ति राति करिब ८ बजे घरमा आएको देखेको प्रहरीलाई बताएका छन्। राति १२ बजेतिर आफू पिसाब फेर्न तल झरेको बेला राय सुत्ने कोठा खुला रहेको र ओछ्यान छेउमा रगतले लतपतिएको अवस्थामा लडेको देखेको रामउजैनले प्रहरीलाई बताएका छन्। स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
त्यसलगतै विभिन्न कोणहरूबाट घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए। ‘अहिलेसम्म केही पत्ता लागेको छैन। अनुसन्धान जारी छ,’ उनले भने।
उनका अनुसार शंकास्पद व्यक्तिहरूसँग सोधपुछ, ‘लोकेसन ट्रयाक’ लगायतका टेक्निकल विधिबाट समेत अनुसन्धान भइरहेको छ। घटना अनुसन्धानका लागि जिल्ला प्रहरीसँगै प्रदेश प्रहरी कार्यालयबाट समेत टोली खटिएका छन्।