काठमाडौँ । बंगलादेशमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका १७ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्कंदै छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् ।
ढाकाबाट उद्धार गरी उनीहरू विमान बंगलादेशको जहाजमार्फत आउन लागेको मन्त्रालयले जनाएको छ । नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली राजदूतावासमा सर्म्पक गर्न आग्रह गरिएको छ । ‘पहिलो चरणमा आउन चाहने १७ जनालाई ल्याएका हौं,’ उनले भने, ‘फर्कन चाहने विद्यार्थीले दूतावासमा सर्म्पक गर्न सक्छन् ।’ सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण ८ सयभन्दा बढी नेपाली विद्यार्थीले बंगालादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हवाई र स्थलमार्ग हुँदै उनीहरु फर्केका हुन् ।
भारत हुँदै बंगलबादेश छाड्न चाहने विद्यार्थीलाई सहजीकरण गरिदिन भारत सरकारलाई समेत आग्रह गरिएको राईले बताए । बंगलादेशमा रहेका विद्यार्थी भारतको मेघालयलगायत सीमावर्ती राज्य हुँदै फर्किरहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशको सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीलाई आइतबार नेपाल फर्काउन प्रबन्ध मिलाएको जानकारी दिएका थिए । बीबीसीका अनुसार बंगलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरिएको छ ।
बंगलादेशमा ३ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । तीमध्ये २४ सय विद्यार्थी मेडिकल साइन्सका हुन् भने ६ सय विद्यार्थी अन्य विषय पढ्न गएका हुन् । त्यसका अतिरिक्त बंगलादेशमा संयुक्त राष्ट्र संघलगायत अन्य अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने करिब ५० नेपाली परिवारका सदस्य बसोबास गर्छन् ।