यशोदा न्यौपाने।
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पर्यटकिय गतिविधि बढिरहेका छन् । बढ्दो जनघनत्वसँगै मानिसहरुले नयाँ–नयाँ मनोरञ्जन स्थलहरु खोजिरहेका छन् । पर्यटन आन्तरिक आम्दानीको प्रमुख स्रोत पनि हो । अथाह सम्भावना हुँदाहुँदै पनि भरपूर प्रयोग हुन सकिरहेको छैन । प्रचार–प्रसारमा अभाव र पूर्वाधार संरचनाहरु व्यवस्थित हुन नसक्नु यसको कारण बनेको छ ।
म कर्णाली प्रदेश सभा उपसभामुख । प्याराग्लाईडिङ मार्फत सुर्खेती आकाशमा उड्ने प्रास्ताव आयो । अस्वीकार गर्ने कुरै भएन । एक औपचारिक कार्यक्रम सकेर म तुरुन्तै वीरेन्द्रनगरबाट गोठीकाँडातर्फ हिडेँ । यसअघि नै पोखरामा गरिएको प्याराग्लाडिङको क्षणलाई स्मरण गर्दै गोठीकाँडा पुगे । मनमा उत्साह, उमंग छदैथियो । भुई छोडेर आकाशमा उड्ने कुरा निकै उत्साहपूर्ण लाग्छ मेरा लागि ।
हामीले चाहेको बेला उड्न सक्ने भएन । मौसम अनुकूल हुनपर्छ । नाङ्गो आँखाले देखिएको मौसम अनुकूल हुदैन । प्राविधिक दृष्टिकोणले उपयुक्त हुनपर्छ । त्यसैले गोठीकाँडा पुगेको केहीबेर अनुकुल मौसमलाई कुर्नुपरेको थियो ।
हाम्रो पाँच जनाको टिम थियो । म त्यसमध्येको भिआईपी थिएँ । हाम्रो टिमका साथीहरुको अनुरोधमा म आफै पहिलो उडानमा गएँ । मनभित्रको कौतुहल्ता कायमै थियो । मलाई आकाशमा उड्दाको डरभन्दा बढी उत्साह थियो । आधा घण्टाको समय लिएर उडान सुरु गरेको मैले डेढ घण्टा समय बिताएँ ।
बादलभित्र हराएँ । आकाश नजिक पुगेँ । वीरेन्द्रनगरका सुन्दर स्थानहरुको अवलोकन गरेँ । वन जङ्गलसँग सामिप्यता पनि उतिकै बढ्यो । प्यागलाईडिङको स्टन्ट निक्कै मज्जाको हुँदो रहेछ !
कुहिरोमा हराएको भन्छन् नी– जुन प्रत्यक्ष रुपमै अनुभूती गर्न सकेँ । बादललाई आफ्नै हातले समाएको अनुभव भयो । मलाई कुनै डर जागेन । उत्साह जाग्यो । प्लेनको यात्रा डर लाग्थ्यो । तर, प्याराग्लाईडिङ सुरक्षित ठानेँ । आनन्दको यात्रा भयो । प्राकृतिक भूगोल, बादल, आकाशले छुट्टै आनन्द तुल्यायो ।
त्यो दिन पाईलटहरुको गोठीकाँडादेखि भेरी नदीमा माछा खान जाने तयारी समेत थियो । मैले सोही उडानबाटै जान तयार भएको बताएँ । प्रतिकुल मौसमको कारण जान सकिएन ।
प्याराग्लाडिङले कर्णालीको पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्छ । पोखरा जस्ता ठूला शहरहरुले पर्यटकलाई भुलाउन सकेका छन् । वीरेन्द्रनगर पनि त्यसका लागि उपयुक्त स्थान हो । बेलाबखत हुने प्याराग्लाडिङ भने यहाँ नियमित हुन सकेको छैन ।
सकेसम्म यात्रा गर्नुपर्छ । अनुभव लिनुपर्छ । प्याराग्लाईडिङ साहसिक यात्रा भएकोले हौसला प्रदान गर्छ । आम मान्छेका भन्दा स्वस्थ मान्छेहरुले सहज यात्रा गर्न सक्छन् ।