बागमती । काभ्रेमा भएको दम्पती हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ
गत जेठ ८ गते महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा ६१ वर्षीय मानबहादुर बल र उनकी ६१ वर्षीया श्रीमती केकैमाया तामाङको शव फेला परेको थियो। उनीहरूको हत्या आरोपीलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ घर भई बलेफी गाउँपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय एकेन्द्र सार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ।
२१ दिन अघि दम्पतीको फरक-फरक ठाउँमा शव फेला परेको थियो। मानबहादुर किराना पसल र केकैमाया अर्कै कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। केकैमायालाई घनले हिर्काएको देखिन्छ, मानबहादुरमाथि फलामको रडले प्रहार गरी हत्या गरेको पाइयो, उनले भने।
दुई जनाको विभत्स हत्या भएको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेतले अनुसन्धान थालेको थियो। सिआइबी र जिल्ला प्रहरी कार्यालय काभ्रेले यस घटनालाई ‘अपरेशन महाभारत’ नाम दिएर संयुक्तरूपमा अनुसन्धान अघि बढाएको थियो। दम्पती हत्या चोरी गर्ने मनसायले भएको प्रहरीको निष्कर्ष छ। डिएसपी श्रेष्ठका अनुसार अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत झिकाइएको थियो।
विशेषज्ञ चिकित्सकको सहयोग, स्थानीय बासिन्दाहरूसँग सोधपुछ, सूचना संकलन, कारागारबाट छुटेका व्यक्तिको विवरण संकलन, खराब आचरण भएका व्यक्तिको विवरण संकलन लगायतको काम गरेको थियो। सडक तथा पुल निर्माण काममा कार्यरत कामदारको पनि विवरण संकलन गरी अनुसन्धानको घेरामा तानेको थियो। प्राविधिक विश्लेषण, सिसिटिभी फुटेज समेतको मद्दतबाट प्रहरीले एकेन्द्रलाई फेला पारेको थियो।
एकेन्द्र महाभारत गाउँपालिकामा वडा ४ को सडक निर्माण काममा लागि त्यहाँ आएका थिए। दम्पतीले चलाउने किराना पसलमा उनी पुगिरहन्थे। पसल जाँदा उनले दम्पतीको गरगहना र पैसाबारे जानकारी लिने गरेको अनुसन्धानबाट खुलेको छ, डिएसपी श्रेष्ठले भने। उनकाअनुसार एकेन्द्रको तीन लाख भन्दा बढी ऋण तिर्न बाँकी छ। आफ्ना सालीबाट लिएको ऋणको ५० हजार रुपैयाँ दिनका लागि उनलाई दबाब थियो। त्यहाँ पसलमा दम्पतीले लगाएको सुन र व्यापारको पैसा देख्दा आफूलाई ऋण तिर्न पुग्ने आकलन गरेर त्यहाँ उनी गएको प्रहरी अनुसन्धानमा खुलेको छ।
चोरी गर्न भनेर उनी जेठ ७ गते राति ११:४५ बजे दम्पत्तीको घर नजिकै पुगेका थिए। बाइकनजिकै रोकेर फलामको रडसहित उनी पसलमा पुगेको डिएसपी श्रेष्ठले बताए। अबेर राति पसल बन्द भएकाले उनले आफूलाई साबुन र स्याम्पु किन्न परेको बहाना बनाएर दम्पतीलाई बोलाएका थिए। एकेन्द्रले बोलाएको सुनेर मानबहादुर पसलतिर आए। त्यही मौका छोपेर एकेन्द्र केकैमाया सुतेको ठाउँमा पुगेको डिएसपी श्रेष्ठले बताए। सुतिरहेकी केकैमायामाथि एकेन्द्रले नजिकै रहेको काठको बिँड भएको घनले हिर्काएर हत्या गरेका थिए।
लगत्तै पसलतर्फ गएर फलामको रडले मानबहादुरमाथि पनि प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। दुई-तीन पटक फलामको रड प्रहर गर्दा मानबहादुर ढलेपछि उनीहरूले लगाएको गरगहना, मोबाइल, नगद, रिचार्ज निकालेर निस्किएका बताएका छन्, डिएसपी श्रेष्ठले भने, निस्किने बेला घरको मेन स्वीचसमेत अफ गरेर घटनास्थलबाट निस्केको भन्छन्।
उनी त्यो रात त्यही गाउँमा बसेर भोलिपल्ट ९जेठ ८० गते सिन्धुपाल्चोकस्थित आफ्नै घर गएको अनुसन्धानमा खुलेको छ। जेठ ८ गते बिहान ढोका खुला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सोही दिन प्रहरी घटनास्थलमा पुगेपछि अनुसन्धानलाई अगाडि बढाएको हो। उनीहरूको हत्या भएकै दिनदेखि एकेन्द्र गाउँ गएकाले उनलाई जेठ १६ गते गृह जिल्लाबाट पक्राउ गरेर प्रहरी सोधपुछ गर्न थालेको हो। अनुसन्धानमा क्रममा प्रमाण फेला परेसँगै घटनापछि भागेको स्वीकार गरिसकेका छन्।
जेठ २९ गते ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए। घटनामा प्रयोग भएको फलामे रड, घन लगायत परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।