सुर्खेत। सुर्खेतको बुलबुले तालमा डुङ्गा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ। मङ्गलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सहितको सरकारी नेतृत्वले डुङ्गा सञ्चालनको औपचारिक उद्घाटन गरेको हो।
चैत महिनादेखि डुङ्गा सञ्चालन भएपनि सरकारी सयन्त्रद्वारा औपचारिक उद्घाटन भएको थिएन।
डुङ्गाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले प्राकृतिक स्रोतसाधनले भरिपूर्ण कर्णाली प्रदेशलार्इ सदुपयोग हुन सके सम्मृद्धि हासिल गर्न सकिने बताए। बुलबुले, काँक्रेविहार, रारा ताल, शेफोक्सुण्डो जस्ता प्राकृतिक सम्पदालार्इ स्तरीय बनार्इ पर्यटन क्षेत्रलाई जति विकसित गर्न सकियो त्यसबाट रोजगारी सिर्जना हुने धारणा राखे।
उनले कर्णालीमा मुख्यतः पर्यटकीय विकास, कृषिमा व्यवसायिकरण, सिपकलामा आधारित उद्योग सञ्चालन गर्न सकेमात्र महत्त्वपूर्ण फड्को मार्न सकिने औल्याए। त्यसका लागि सबै सम्वद्ध सरोकारवाला पक्षबाट सकारात्मक जनमत बनाउन सक्दा जनतामा आसा जगाउन सकिने उल्लेख गरे।
बुलबुले उद्दान क्षेत्रमा स्नान गृह, पिकनिक स्पटलाई परिवर्तन गर्नुपर्ने औल्याएका छन्।
कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणा मन्त्री दुर्ग बहादुर रावतले प्रदेश राजधानीको विकासले समग्र कर्णाली प्रदेशको दृष्टिकोण दिने भएकोले यसतर्फ प्रदेश सरकार लागिरहेको बताए। उनले निजी क्षेत्रका लागि राज्यका तर्फबाट गरिने सहयोगका लागि कमी नहुने प्रतिवद्धता जनाए।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पर्यटन क्षेत्रबाट नगरपालिकाको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरिन्। त्यसका लागि नगरले बुलबुले उद्दानमा लगानी बढार्इरहेको बताइन्।
“बुलबुले ले राजस्व दिन थालेको छ। राजस्व बढाउने अवसर पाइएको छ। यसले स्थानीय सरकारलाई आत्मनिर्भर बनाउनेमा जोड दिएको छ।” प्रमुख ढकालले भनिन्, “यसबाट उठेको राजस्वबाट यसैमा खर्च गरिनेछ। वीरेन्द्रनगरका अन्य सम्भावनाको क्षेत्र भएकोले नगरलाइ आत्मनिर्भर बनाउने राजस्व सुधारको योजना छ।”
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमण कँडेलले वीरेन्द्रनगरमा पर्यटकलाई भुलाउने माध्यमका रूपमा बुलबुलेलार्इ लिन सकिएको र यसले व्यावसायिक प्रयोजनमा फाइदा भएको बताए। अझै सुदृढ बनाउन सबै क्षेत्रको एकता आवश्यक भएको जनाए।
डुङ्गा कम्पनीका सञ्चालक विष्णु ढकालले एकीकृत रूपमा बुलबुले उद्दानकाे विकास गर्न सकिए पर्यटकीय क्षेत्रमा परिवर्तन गर्न सकिने बताए। भएका स्रोत साधनलाई सदुपयोग गर्न सके राम्रो हुने सुझाव दिए। उनले बुलबुलेमा आउने पर्यटकले मनोरञ्जनका लागि धेरै अपेक्षा प्रकट गरेको जानकारी दिए।
साथै, अहिले बुलबुले तालमा तीनवट मोटर बोट (डुङ्गा) सञ्चालनमा छन्। डुङ्गा सञ्चालन पछि दैनिक अनुपातमा अठ सय बढीले डुङ्गा शयर गर्नेगरेका छन्। सार्वजनिक बिदाको दिनमा भने हजार बढीले मनोरञ्जन लिने गरेको सञ्चालक कम्पनीले जनाएको छ।