सुर्खेत । सुर्खेतमा शुक्रबार देखि दुई दिने श्रमाधान रोजगार मेला लाग्दै छ । नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सात वटै प्रदेशमा यो किसिमको मेला आयोजना गरिएको छ । त्यसअन्र्तगत सुर्खेतमा शुक्रबार र शनिबार मेला सञ्चालन हुने भएको हो ।
प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको सिटी हलमा उक्त मेला सञ्चालन हुने छ ।
रोजगारदाता र रोजगारी खोजिरहेको व्यक्तिहरुबीचको भेटघाट गराउने मेलाको मुख्य कार्य रहने जनाइएको छ । रोजगारीका अवसर श्रृजना गर्नु, सीप विकासको प्रवद्र्धन गर्नु, उद्यमशिलतालाई प्रोत्साहन गर्नु, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्नु, युवा सशक्तिकरण गर्नु र सार्वजनिक नीजि साझेदारी अभिवृद्धि गर्नु मेलाको उद्देश्य छ ।
कर्णालीमा ४० ओटा रोजगारदाताहरुको स्टल रहने छन् । त्यसका लागि बिहिबारसम्म ३४ ओटा स्टल बुकिङ भईसकेका छन् । तीमध्ये लोकसेवा आयोग, श्रम रोजगार कार्यालय लगायतका सरकारी निकायहरुको रोजगार सम्वद्ध आठ ओटा संस्थाहरुको स्टल रहने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव टिकाराम ढकालले जानकारी दिए ।
नीजि व्यवसायिक कम्पनीहरुले रोजगारीका लागि दक्ष कामदार छनोट गर्न सक्नेछन् । कम्पनीहरुले आफुलाई आवश्यक कामदारको बारेमा अवलोकनकर्तालाई जानकारी गराउनेछन् । भने केहीले स्टलबाटै कामदार छनोट समेत गर्न सक्ने मेलाको अभियान रहेको छ ।
मेलामा सहभागिताका लागि अनलाईन फाराम भर्ने व्यवस्था समेत गरिएको थियो । त्यसका आधारमा सुर्खेतमा हुने मेलाको लागि बुधबार साँझसम्म चार सय बढीले आवेदन गरेको उपसचिव ढकालले बताए ।
यस्तो छ कार्यक्रम रुपरेखा
सुर्खेतमा २५ र २६ गते (शुक्रबार र शनिबार) मेला सञ्चालन हुनेछ । यी दुई दिन बिहान १० बजेदेखि ६ बजेसम्म सिटी हलमा मेला हुनेछ ।
विहान १० बजे मेलाको उद्घाटन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले गर्ने उपसचिव ढकालले बताए । उनका अनुसारक मेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको आतिथ्यता रहनेछ ।
दिउँस १२ बजेदेखि विभिन्न कार्यशालाहरु हुनेछन् । कार्यशालाका विषयहरुमा सुरक्षित आप्रवाशन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रकृया, अन्र्तराष्ट्रिय श्रम सम्बन्ध र कानून, सामाजिक सुरक्षा एवम् आन्तरिक रोजगारीका विषयहरु रहेका छन् । यसमा सम्बन्धित सरोकारवालाहरु विज्ञहरुबीच अन्तरकृया हुने जनाइएको छ ।
मेलामा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश हुने बताइएको छ ।