सुर्खेत । कर्णाली प्रदेश सरकारले टुक्रे योजना कार्यान्वयनमा लिने संकेत गरेको छ । आर्थिक मसान्तको उत्तरार्धमै भएपनि प्रदेश सरकार त्यसतर्फ सकारात्मक देखिएको हो । यद्यपी, प्रतिपक्षी दल नेपाली कांग्रेसले ती योजना कार्यान्वयनमा नलिएको भन्दै आईतबार संसद अवरुद्ध गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रममा सडक पूर्वाधार तर्फ ३० लाख र वन पर्यटन लगायतको अन्यतर्फ ३० लाख भन्दा कम रकम विनियोजन गरिएका योजनालाई कार्यान्वयनमा नलिने राजनैतिक सहमति भएको थियो ।
उतिबेला, कांग्रेस–माओवादी गठबन्धनको सरकार थियो भने प्रतिपक्षको बेन्चमा नेकपा एमाले रहेको थियो । एमाले–माओवादी गठबन्धनमा सरकार गठन भएको छ ।
टुक्रे भनिएका केही योजनालाई सरकारले मनपरी गर्दै आन्तरिक रुपमा कार्यान्वयन लिएको र धेरै योजना कार्यान्वयन नगरेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आईतबार संसद अवरुद्ध पारेको थियो । कांग्रेसले अब ती सबै योजना कार्यान्वयनमा लगिनुपर्ने अडान राखेको थियो ।
सोमबार मुख्यमन्त्री यामलाल कँडेल सहित सत्तापक्ष र प्रतिपक्षबीच संसदको गतिरोध खुलाउने सहमति भएको थियो ।
सोमबारको प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री यामलाल कँडेलले योजना कार्यान्वयन लिईने प्रतिवद्धता जनाए । उनले औचित्य र आवश्यकता पुष्टी हुनेगरी समयलाई मध्यनजर गर्दै आवश्यक निकास निकाल्न सरकार तयार रहेको बताए ।
तत्पश्चात कांग्रेस संसदीय दलको तर्फबाट बोल्दै सांसद घनश्याम भण्डारीले मुख्यमन्त्री कँडेलको प्रतिवद्धता कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।