सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले योजना माग्न घर छोडेर निवेदन बोकेर मन्त्रालय आउने तरिकालाई बदल्नुपर्ने औल्याएका छन् । आजको प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले योजनाका मन्त्रालय धाउनुपर्ने मानसिकतालाई बदल्नुपर्ने बताएका हुन् ।
विगतमा भएका अभ्यासहरुका कारण अहिलेदेखि नै मन्त्रालय धाउनेहरुको संङ्ख्या बढ्न थालेको जानकारी दिए ।
उनले संरचनामा संघियता भएपनि मानसिकतामा संघियता नआएको बताए । योजना माग गर्नका लागि नजिकका निकायहरु हुँदाहुँदै पनि मन्त्रालय नै धाउनुपर्ने नियत नै बसेको भन्दै मानसिकतामा पनि संघियतामा आउनुपर्ने औल्याएका हुन् ।
मुख्यमन्त्री कँडेलले निवेदन बोकेर प्रदेश सरकारका मन्त्रालयमा नआउन अपिल गरे । आफ्नो नजिकको स्थानीय तहका निकाय, प्रदेश र जिल्लाका निकायमा पेश गर्न अपिल गरे ।
विगतका सरकारहरुले परियोजना बैंक बनाउने भनेपनि रित्तो भएको बताए । प्राप्त साधन स्रोतबाट छनोट भएका योजनाका बिच तादम्यता नमिलेको टिप्पणी गरे ।
स्रोत सुनिश्चित, बहुवर्षिय र क्रमागत योजनाहरुबीच तादम्यता नमिलेको औल्याए । यसबाट योजना कहिल्यै सम्पन्न नहुने, जनतामा असन्तुष्टी बढ्ने क्रम बढेको बताए । बहुवर्षिय र स्रोत सुनिश्चित बाहेकका योजनालाई क्रमागत मान्न नहुने तर्क प्रस्तुत गरे ।
बस्तुनिष्ठ समिक्षा गरी, आग्रह र पूर्वाग्रहबाट टाढा रहेर तथ्यका आधारमा योजना छनोट गर्न सकियो भने सकारात्मक धारणा बन्ने उनको भनाई थियो ।
हिजो ल्याएका नीति जनप्रिय भएपनि काम गर्न नसकिएको बताए । ‘बैंक खाता छोरीको जीवनभरीको’ विगत दुई वर्षदेखि सुचारु गर्न नसकिएको लगायतको उदाहरण प्रस्तुत गरे ।