सुर्खेत । कर्णाली प्रदेश सरकार गठन हुने विषयमा कांग्रेस सांसदको चाँसो देखिएको छ । केन्द्रमा बदलिएको राजनीतिक समिकरणसँगै प्रदेश सरकारमा कांग्रेस प्रतिपक्षको बेन्चमा पुगेको छ ।
शुक्रबार बसेको कर्णाली प्रदेश सभा बैठकमा बोल्ने नेपाली कांग्रेसका सांसदहरुले बदलिएको समिकरण अनुसार चाँडो सरकार गठन गर्न ध्यानाकर्षण गराए । कांग्रेस सचेतक हिक्मत विष्टले ‘सरकारको पूर्णता के ले रोकेको छ ?’ उनले प्रश्न गर्दै भने, ‘किन सरकार बन्दैन ?’ एकातिर संघीयता केन्द्रमुखी भयो भन्दै गर्दा अधिकार कार्यान्वयन गर्ने बेला आफैले खुट्टा कमाएर बसेको आरोप उनले लगाए । उनले सरकार छिट्टै बनाएर गति र मतिले सञ्चालन गरोस् भन्ने अपेक्षा व्यक्त गरे ।
पूर्व मन्त्री समेत रहेका वेदराज सिंहले पनि सरकारले पूर्णता नपाएको विषयमा प्रश्न उठाए । नयाँ सरकार बनाउन सहज होस् भन्दै आफुहरुले राजीनामा दिएको १८ दिन बितिसक्दा पनि पूर्णता नपाएको भन्दै प्रश्न उठाएका हुन् ।
कांग्रेस सांसद सुरेश अधिकारीले सरकार अल्पमतमा भएको बताए । बैठकमा सांसदहरुले राखेका विषयलाई अब बन्ने सरकारले सम्बोधन गर्नुपर्ने भन्दै बहुमतका आधारबाट सरकार बनाउन आग्रह गरे ।
सांसद विजय बुढाले पनि सरकारको पूर्णता होस् भनि सुभेक्षा व्यक्त गरिन् ।
सांसद इन्द्रा शाहीले पनि समयमै सरकार गठन गरी तदारुकताका साथ काम गर्नुपर्ने बेला आएको बताईन् । उनले चालु आर्थिक वर्षको अन्तिम त्रैमासिक सुरु हुने बेला भईसकेकोले समयमै सरकार गठन गरी योजना कार्यान्वयनमा लैजान सुझाव दिईन् ।