काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ ।
फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।
बैंकहरूले व्यक्तिगत मुद्दतीमा जति ब्याजदर तोकेका छन्, संस्थाहरुलाई त्यसको १ प्रतिशत विन्दु कम हुन्छ । प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् ।
चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ ।
बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि आफ्नो स्वच्छ प्रतिस्पर्धात्मक रुपमा तरलता आवश्यकता अनुसार ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाउँदै जाँदा बचत र कल निक्षेपको ब्याजदर पनि स्वतः घट्छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । बैंकले लिने सबै प्रकारका निक्षेपको ब्याजदर घटेपछि समग्रमा आधार दर नै घट्न जान्छ र कर्जाको ब्याजदर पनि घट्छ ।