सुर्खेत । वीरेन्द्रनगरमा तेस्रो कर्णाली एक्स्पो सञ्चालनको बाटो खुलेको छ । उच्च अदालत सुर्खेतले फागुन ११ गते महोत्सव सञ्चालन नगर्न अन्तरिम आदेश दिएको थियो । सोमबार उच्च अदालतका मुख्य न्यायाधीश लोहित चन्द्र शाह र खड्कबहादुर केसीको संयुक्त इजलाशले उक्त अन्तरिम आदेशको निरन्तरता दिईराख्नु नपर्ने आदेश दिएको हो ।
यसअघि फागुन १४ गते (आज) महोत्सव उद्घाटन गर्ने तयारी उद्योग वाणिज्य संघले गरेको थियो । बालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकार हनन् हुनसक्ने भन्दै महोत्सव सञ्चालन कार्य रोक्न अदालतमा रिट दायर भएको थियो । फागुन १० गते अधिवक्ता प्रकाशबाबु ऐडीले उक्त रिट निवेदन दायर गरेका हुन् ।
सोमबार भएको आदेशमा कर्णाली एक्स्पो सञ्चालन हुने स्थल खेलमैदान, मेला र महोत्सव गर्ने भन्ने रहेकोले बालमन्दिर विद्यालयको पठनपाठन सकिएर मिति २०८० चैत १ गतेदेखि परिक्षा सञ्चालन हुने देखिएकोले अल्पकालीन अन्तरिम आदेशको निरन्तरता दिन नपर्ने आदेशमा उल्लेख छ ।
मंगलबार विहान उद्घाटन हुने
अदालतकाे आदेशपछि महाेत्सव मंगलबार उद्घाटन हुने भएकाे छ । महाेत्सवकाे उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने आयाेजकले जनाएकाे छ ।
बिहान ११ बजे मंगलगढी चोकबाट झाँकीसहित शोभा यात्रा हुने बताइएको छ ।