सुर्खेत । शनिबार साँझ वीरेन्द्रनगरको गैरीचोकमा विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहार भयो । गोली गाडीमा लागेपनि उनिमाथी क्षती भएन । उनिमाथी गोली प्रहार गर्ने भारतीय नागरिक भएको खुलेको छ । तर, योजनाकार भने सुर्खेतकै भएको बताइएको छ ।
घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अन्य संलग्नको खोजी प्रहरीले गरिरहेको छ ।
कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ को इन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी र भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्जस्थित जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपुत पक्राउ परेका हुन् ।
राजपुत यस घटनामा सुटरको रूपमा प्रयोग भएका छन् ।
प्रहरीका अनुसार घटनामा इन्द्रले सहजीकरण गरेको देखिएको छ । इन्द्रले पक्राउ नपरेका एक जना अज्ञात व्यक्तिसँग डेढ महिनादेखि ह्वाट्सएपमा निरन्तर कुराकानी गरेको फेला प्रहरीले पारेको छ । करिब २०–२५ दिन अघि इन्द्रले ती पुरूषलाई कैलालीको अत्तरियामा भेटेका थिए ।
हत्या योजना बनाउन ती व्यक्तिले इन्द्र, भरतलाई नेपालगञ्जमा भेटेका थिए । उनिहरुको भेटमा ती अज्ञात व्यक्तिले ‘हामीसँग सूटर छ, सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्छ । म तिमिलाई डेढ लाख दिन्छु’ भनेका थिए । अज्ञात पुरूषले नै उनिहरुलाई एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली उपलब्ध गराएको प्रहरीले जनाएको छ ।
योजना बनाउने व्यक्तिले सुटर भनिएका राजपुतलाई दुई लाख रुपैयाँ दिने सहमति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले बताए ।
सुटर भनिएका राजपूत फागुन ७ गते वीरेन्द्रनगरमा आएका थिए । उनलाई वीरेन्द्रनगर–४ मा रहेको गणेश होटलमा राख्ने व्यवस्था राजनले मिलाएका थिए । फागुन ९ गते इन्द्र र भरत नेपालगञ्जबाट सुर्खेत आई सोही होटलमा बसेका थिए ।
भरतले यस घटनामा प्रयोग गर्न आफ्नो भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराएका थिए । ती अज्ञात व्यक्तिले नै योजनाअनुसार सुटरहरूलाई विनोदको घर–ठेगाना हुलियासहित दिएका थिए । उनीहरूको योजनाअनुसार शनिबार सुटरको समूहले विनोद गिरीको गाडीलाई पछ्याएको थियो ।
वीरेन्द्रनगर–१ गैरीचोकमा पुगेपछि भने गोली प्रहार गरेका थिए। गोली प्रहार गरेलगत्तै सुटरको मोटरसाइकल र विनोदको गाडी ठोक्किएका थिए। जसपछि सुटरहरू फरार भए।
अनुसन्धानको क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेपनि यसमा हत्या गर्नुपर्ने कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले उनिहरुकविरुद्व हातहतियार खरखजना र ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ ।