सुर्खेत। वीरेन्द्रनगर नगरपालिका नगरअस्पताललाई अन्तरराष्ट्रिय गैर सरकारी संस्था ब्याक टु लाइफले सहयाेग गरेकाे छ। साविकको कटकुवा स्वास्थ्यचौकी रहेको स्थानमा सञ्चालित नगर अस्पताल परिसरमा महिला तथा बालबालिकाको लागि पाँच शैय्यको सुविधा सम्पन्न अस्पताल भवन निर्माण पूरा भई आवश्यक सामग्री तथा उपकरण जडान कार्य सम्पन्न भएको छ।
१८ महिना अघि उक्त परियोजना सुरू भएकाे थियाे । ब्याक टु लाइफ इ भी जर्मनीका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासकीय निर्देशक अच्युतप्रसाद पौडेलद्वारा नगरप्रमुख माेहनमाया ढकाललाई अस्पताल भवन र उपकरण हस्तान्तरणकाे स्वामित्व हस्तान्तरण गरिएकाे हाे।
पाँच करोड ७० लाख रुपैँया बराबरको पाँच सैय्या क्षमताकाे भवन निर्माण गरी मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरणहरु र नवजात शिशुको सघन कक्ष संचालन गर्न आवश्यक सम्पूर्ण सामग्री समेत जडान गरिएको ब्याक टु लाइफका मेनेजर अनुप पौडेलले जानकारी दिए।
वीरेन्द्रनगर नगरपालिकाको २०७८ साल मङ्सिर २२ गतेको कार्यपालिका बैठकले ब्याक टु लाइफलाई अस्पताल भवन निर्माण तथा सोको लागि आवश्यक क्लिनिकल सामग्रीहरु उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेकाे थियाे।
नगरपालिका प्रमुख मोहनमाया ढकालले ब्याक टु लाइफको आर्थिक सहयोगबाट निर्माण भएको अस्पताल भवन र प्राप्त उपकरणहरुले वीरेन्द्रनगर र कर्णाली प्रदेशमै मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी सेवा प्रदान गर्न अति सहज र उपयोगी हुने र कर्णाली प्रदेशका सम्पूर्ण जनताहरु लाभान्वित हुने भन्दै ब्याक टु लाइफले गरिरहेको निरन्तर सहयोगका लागि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन्।
सन् २००९ देखि ब्याक टु लाइफले नेपालमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ।