सुर्खेत। कर्णाली प्रदेश सरकारप्रति असन्तुष्टि बढेको छ। सत्तारुढ दलहरूबीच मतभेद देखिन थालेको हो। सत्तासाझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले ‘अराजकताको अवस्था’ भनेका छन्।
उनले ह्याण्डल गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारमा सामेल कांग्रेसका मन्त्रीलाई फिर्ता हुने तयारीमा बस्न समेत भनेका छन्।
‘यो अराजकता को अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरहनु उपयुक्त हो ।सोही बमोजिम कांग्रेसबाट सहभागी मन्त्रीहरूले व्यवस्थापन गर्दा राम्रो होला ।’ नेता शाहीले लेखेका छन्।
यस्तै, कांग्रेस सांसद घनश्याम भण्डारीले पनि गत मंगलबार प्रकाशित एक साप्ताहिक पत्रिकामार्फत कर्णाली सरकार आफैंले अराजकता सिर्जना गरिरहेको बारे टिप्पणी गरेका थिए।
सरकारमा कांग्रेसबाट सामाजिक विकास मन्त्री खड्क बहादुर पाेखरेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसी र आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह छन्। उनीहरूको कार्यशैली सच्याउन कांग्रेस संसदीय दलको बैठकले यसअघि नै निर्देशन दिएको थियो।