सुर्खेत । मंगलबार विहानदेखि कर्णाली प्रदेशका सात जना प्रधानाध्यापकले बधाई खाईरहेका छन् । समर्थक तथा शुभचिन्तकहरुले प्रदेशको उत्कृष्ट प्रधानाध्यापक छनोट भएको भन्दै बधाई दिइएका हुन् । यसक्रममा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा पत्रकार समूह अनामनगरलाई लेखेको पत्रलाई आधार मानिएको छ ।
शिक्षा पत्रकार समूहले सार्वजनिक शिक्षाको अभ्यासमा खटिएका नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रधानाध्यापकहरुको प्रोफाइल स्टोरी लेखन गर्दैछ । देशभरका प्रधानाध्यापकहरुको स्टोरी लेख्न थालेको हो । त्यसका लागि कर्णाली प्रदेश अन्र्तगत सामाजिक विकास ‘मन्त्रालयसँग सुची माग गरेको थियो ।’ मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले भने ।
केही मापदण्ड वा सूचक, अध्ययनहरुबाट कुनैपनि वस्तु, व्यक्ति वा संस्था उत्कृष्ट छनोट हुनुपर्ने हो । तर, सामाजिक विकास मन्त्रालयले त्यसरी हालसम्म कुनै प्रतिवेदन सार्वजनिक गरेको छैन । ‘हामीले त्यसरी अध्ययन नै गरेर प्रतिवेदन निकालेका छैनौं ।’ अधिकृत सुनारले भने ।
उत्कृष्ट भनिएका शिक्षकहरु सूचकका आधारबाट छनोट नभई स्टोरी लेख्न लायक मानेर मन्त्रालयले स्वमूल्यांकन गरी सूची पठाइएको अधिकृत सुनारले बताए । ‘शिक्षा पत्रकार समूहले स्टोरी लेख्न लायक प्रधानाध्यापकहरुको सूची मागेपछि सार्वजनिक शिक्षा सुधारमा प्रयास गरिरहेका प्रधानाध्यापकहरुको नाम समावेश गरिएको हो । उहाँहरु उत्कृष्ट नै हो भन्ने छैन ।’ अधिकृत सुनारले भने, ‘हामीले पत्रमै उत्कृष्ट नलेखे हुने थियो । गल्ती भयो ।’
यी हुन् सूचीमा रहेका प्रधानाध्यापक
मन्त्रालयले सूचीकरण गरी पठाएका सात जना प्रधानाध्यापक रहेका छन् ।
उनिहरुमध्ये बराहताल गाउँपालिकाको बड्डीचौरस्थित जनज्योती माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देल, पातारासी गाउँपालिका रिनीस्थित सरस्वती माध्यामिक विद्यालयका भिमबहादुर विक, अमरज्योती नमूना माध्यामिक विद्यालयका खगेन्द्र थापा, जन नमूना माध्यामिक विद्यालयका यामबहादुर श्रेष्ठ, गुराँस गाउँपालिकास्थित पार्वती माध्यामिक विद्यालयका नगेन्द्रबहादुर शाही, मुगुम कार्मारुङ आवासीय माध्यामिक विद्यालयका कुशल शाही र एसओएस हर्मन माईनर माध्याविक विद्यालयका हरिहर बस्नेत रहेका छन् ।