कर्णाली । राष्ट्रिय सभा सदस्य पदमा नेपाली कांग्रेसका कृष्ण रोकाय विजय भएका छन् । उनी सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार थिए ।
आज भएको निर्वाचनमा रोकायाले तीन हजार ८७० मतभार प्राप्त गरेका छन् । उनले ३० प्रदेश सभा सदस्य बराबर एक हजार ५९० मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गरे ।
रोकायाका प्रतिस्पर्धी नेकपा एमालेका डिल्ली प्रसाद भट्टराईले एक हजार २१४ मतभार लिए । उनले १० प्रदेश सभा सदस्य बराबर ५३० मतभार र ३६ स्थानीय तह मतदाता बराबर ६८४ मतभार प्राप्त गरी पराजित भए ।
यस्ताे छ राजनीतिक पृष्ठभुमी
रोकाया रुकुम पश्चिमका हुन्। बहुदल स्थापनापछि राजनीति सुरु गरेका रोकाया नेपाल विद्यार्थी संघ रुकुमको संस्थापक अध्यक्ष हुन्। नेपाल विद्यार्थी संघ रुकुमको अध्यक्षमा उनी दुइ कार्यकाल निरन्तर रहे।
२०५३ सालदेखि २०५७ सम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य थिए। २०५७ सालको दशौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै जिल्लाको पार्टी सचिव बने। २०६७ सम्म उनी जिल्ला सचिव भएर काम गरेका थिए। १४ औं महाधिवेशनसम्म पनि रोकाया निरन्तर महासमिति सदस्य निरन्तर थिए।
२०७० सालको संविधान सभा निर्वाचनमा रुकुम (१) बाट चुनाव लडेका थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा पनि रुकुम पश्चिम प्रदेश (क) बाट उम्मेदवार बनेर चुनाव लडे। यी दुवै निर्वाचनमा उनी पराजित भए।
२०६२/६३ को दोस्रो जनआन्दोलनको बेला सक्रिय रुपमा लागेका उनी एक हप्ता प्रहरी हिरासतमा बसेका थिए।