लुम्बिनी। बाँके जिल्ला अदालतले नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना सम्बन्धी मुद्दामा १९ जनालाई दोषी ठहर गरेको छ । मुद्दा दायर भएकाे करिब ४ वर्षपछि बुधबार बाँके जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले ४१ जना प्रतिवादी मध्ये १९ जनामाथि कसुर ठहर गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले २०७६ असोज २८ गते सहकारी ऐन, ठगी र संगठित अपराधको कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो ।
अदालतका श्रेस्तेदार सरोजनिधि वाग्लेका अनुसार गंगाधर सुवेदी, गोपाल भण्डारी, अरुणकुमार पाठक, सुर्यबहादुर बिक, लिला भन्ने लिलाप्रसाद वली, किरण श्रेष्ठ, गौरवकुमार श्रेष्ठ, शुरतराम खटिक, बलराम यादव, शारदाकुमारी थापामगर, सिद्धिकुमार महर्जन, अम्बरबहादुर खड्का, हरदेवबक्स चौधरी, रबिन्द्र थापा, स्थिरमणि बज्राचार्य, तुसार शाह, सन्धि भन्ने सन्दिप शर्मा, लिला शाह र ओमप्रकाश चौधरीलाई दोषी ठहर गरेको हो ।
कसुर ठहर भएका प्रतिवादीका लागि एक महिनाभित्र अर्को पेशी तोकेर सजाय निर्धारण गरिने श्रेस्तेदार वाग्लेले बताए ।
कसुर ठहर भएका प्रतिवादीहरुको हकमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ अनुसार सजाय निर्धारणको लागि छुट्टै सुनुवाइ हुने छ ।
जिल्ला अदालतले जिल्ला सरकारी वकिल कार्यालय बाँके र प्रतिवादीका कानुन व्यवसायीलाई सजाय पूर्वको प्रतिवेदन ७ दिनभित्र पेश गर्न आदेश दिएको छ ।
यसैगरी आरोपित अजयकुमार पाठक, सतिशकुमार शर्मा, तुल्सा थापा अंगतरा बर्मा, दीपक बर्मा, चन्द्रप्रसाद तिमिल्सेना, राजेन्द्रकुमार बिक, मैया केसी, पवनकुमार यादव, लक्ष्मी श्रेष्ठ, बिमला गौतम, कृष्णबिक्रम जिसी, रत्ना राणा, प्ररमात्माप्रसाद कुर्मी, नन्दकिशोर कहार, गंगा भुसाल, विजयकुमार पाठक, विनयकुमार श्रेष्ठ, नारायणबाबु अधिकारी, बिनोदकुमार शाक्य र कुलानन्द रेग्मीले भने सफाइ पाएका छन ।