सुर्खेत । कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले गाउँ छोडेर शहरमै घर बनाउने सोचका कारण पनि भ्रष्टाचार बढिरहेको बताएका छन् । भ्रष्टाचार विरुद्धको दिवसको मनाउने क्रममा शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रमहरुमा बोल्दै सभापति भण्डारीले यस्तो बताएका हुन् ।
‘शहर केन्द्रीत बसाई स्थानान्तरणको सोच मात्रै परिवर्तन गर्न सके भ्रष्टाचार केही हदसम्म कम हुनसक्छ’ सभापति भण्डारीले भने, ‘गाउँमा स्थापित पुख्र्यौली सम्पत्तीलाई छोडेर शहरमा घरजग्गा जोड्ने आसयका कारण भ्रष्टाचारले बढवा पाइरहेको छ ।’
यस क्रमलाई रोक्नुपर्ने उनको भनाई छ । त्यसका लागि राज्यका निकायले ग्रामीण क्षेत्रमा आधारभूत संरचनाहरुलाई स्तरीय बनाउनतर्फ जोड दिनुपर्ने बताए । साथै, नागरिकले पनि गाउँ प्रतिको विश्वास बढाएर जन्मस्थान नछोडेर त्यहिभित्र सम्भावना खोज्नुपर्ने उनको सुझाव छ ।
‘गाउँको पाठशाला पनि स्तरीय छन् भन्ने प्रत्याभूति गराउन सकेको अवस्थामा गाउँ रितिने अवस्था आउने थिएन ।’ उनले भने, ‘अब नागरिक तहबाटै विद्यालय सुधारको अभियान बनाउन आवश्यक छ । परविर्तनका लागि समुदाय स्तरका संस्थाहरु एकजुट हुनुपर्छ ।’