सुर्खेत । बिहिबार वीरेन्द्रनगरमा विद्यार्थी सहितको सडक आन्दोलन भयो । अगुवाई स्थानीय युवाले गरेपनि विद्यार्थीहरुले पोशाकमै आएर आन्दोलनलाई साथ दिए । उनिहरु बढीमा माध्यामिक तहसम्मका बालबालिका थिए । बालबालिका सम्बन्धी कानुनी व्यवस्थाले कुनैपनि किसिमका आन्दोलनमा उनिहरुलाई प्रयोग गर्न बन्देज गरेको छ । तर, ती विद्यार्थी आफैको बाध्यता बनेपछि उनिहरु सडकमा उत्रिएका हुन् ।
उनिहरुको आन्दोलन वीरेन्द्रनगरको मंगलगढी–काँक्रेविहार सडक स्तरोन्नती गर्ने ठेकेदारको विरुद्धमा थियो । उनिहरुले विरोध प्रदर्शन सहित बजार परिक्रमा गरेभने सो सडक खण्डमा सवारी साधन निषेध गरे । सकारात्मक परिवर्तनका लागि दबाबमूलक बहस कार्यक्रम सहित मंगलगढी चोकमा टायर समेत बालेर विरोध जनाएका थिए ।
समयमा सडक नहुँदा विद्यालयमा शान्तसँग पढ्ने वातावरणबाट बञ्चित भएको विद्यार्थीले सुनाए । ‘स्कुल जाँदा–आउँदा विभिन्न समस्या त छन् नै पढ्ने बेलामा समेत शान्तले पढ्न पाईदैन ।’ विद्यार्थीहरुले भने, ‘पढ्ने बेला आन्दोलन गर्न नहुने भएपनि हामी बाध्य भएर आन्दोलनमा आएका हौं ।’
उक्त सडक निर्माणको जिम्मा बाँके कार्यालय ठेगाना रहेको श्रीअमर सिस्ने नेपाल मेगा जेभीले लिएको छ । कम्पनीले १२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले स्तरोन्नतिको ठेक्का लिएको हो ।
पूर्वाधार विकास निर्देशनालय सुर्खेत र उक्त कम्पनीबीच २०७८ मंसिर १४ मा सम्झौता भएको थियो । त्यसअनुसार २०८० असार १५ मा काम सम्पन्न गरिसक्नुपर्ने शर्तनामा थियो । तथापी २०८० मंसिर सकिनै लाग्दा समेत सडक अधुरै छ ।
काम सुरु भए पनि ३ वर्षसम्म अलपत्र पारेपछि घरमा बस्न नसकिने अवस्था भएको स्थानीय दिलबहादुर महताराले बताए । जनजीविकामा समेत स्वास्थ्य समस्या देखिन थालेको उनले बताए ।
स्तरोन्नतीका क्रममा सडक क्षेत्रभित्रका ३६ घर टहरा समेत भत्काइएको छ । तर, कालोपत्रे नगरेर बिचैमा ठेकेदार भागेपछि ३ वर्षदेखि सडक अलपत्र भएको हो ।
सडक पूर्वाधार निर्देशनालय सुर्खेतका अनुसार २५ मिटर चौडाइ, दुई मिटर फुटपाथ क्षेत्र बनाइने डिजाइनमा छ ।